दलित किशोरी मृत्यु प्रकरण : शंकास्पद ८ जनाको पोलिग्राफ परीक्षण तर संलग्नको पहिचान खुलेन

जेष्ठ २, २०८२

अवधेशकुमार झा

Dalit girl death case: Polygraph test of 8 suspects but the identity of those involved is not revealed

राजविराज — घरदेखि एक किलोमिटर टाढा पातपतिङ्गरले छोपीएको अवस्थामा मृत फेला परेकी दलित किशोरी सप्तरी ए(नाम परिवर्तन) को मृत्युको कारण अझै खुल्न सकेको छैन । गत वैशाख २ गते बिहान सुरुङ्गा नगरपालिका-७ की ती किशोरीको मृत शरीर पातपतिङ्गरले छोपेको अवस्थामा फेला परेको थियो । 

साढे तीन वर्षअघि यौन हिंसामा परेकी ती किशोरी फेरि यौन हिंसामा पर्ने डरले विद्यालय समेत जान छाडेकी थिइन् । २०७८ साल मंसिर १४ गते उनीमाथि बलात्कारको प्रयास भएको थियो । किशोरीको मृत शरीर गत वैशाख २ गते घरदेखि एक किलोमिटर टाढा फेला परेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिएको थियो । 

किशोरीको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएर छानबिन गरेको एक महिना बित्दासमेत मृत्युको कारण र संलग्नको पहिचान खुल्न सकेको छैन । 

‘शंकास्पद आठ जनाको पोलिग्राफ परीक्षणसमेत गरायौँ,’ सप्तरीका एसपी ढकेन्द्र खतिवडाले भने,‘तर पोलिग्राफ परीक्षणमा घटनामा संलग्नता खुलेन ।'  शंकास्पद र परिवारकै केही सदस्यसमेत गरी आठजनाको पोलिग्राफ परीक्षण गरिएको थियो । 

 घरवाटै राति बेपत्ता भएकी किशोरीको शव बिहान भेटिएको थियो । हत्या भएको भन्दै उनकी आमाले एलाका प्रहरी कार्यालय कडरबोनामा ज्यानसम्बन्धी कसूरमा जाहेरी दिएकी छिन् । 

अवधेशकुमार

Link copied successfully