राजविराज — पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका-१० बदगामामा आइतबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पुर्याइएका सप्तकोशी नगरपालिका- १ का ७५ वर्षीय रत्नबहादुर मगरातीको उपचारका क्रममा मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।
गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्र१-०१-००१ ख ३४२० नं. को यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएका एक पुरुष र एक महिलाको सनाखत भएको छैन । दुवैको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । दुर्घटनामा दुई दर्जन यात्रु घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
