राजविराज — एमाले उपाध्यक्ष रामबहादुर थापाले नेपालका अवस्था चाहेजस्तो नरहेको बताएका छन् । एमाले सप्तरीको दसौं जिल्ला अधिवेशनको शनिबार राजविराजमा उद्घाटन गर्दै उनले नेपालमा गरिबी रहेको र बेरोजगारीका कारण विदेसिन बाध्य भएको बताए ।
'भएका रोजगारले जिउ धान्न गाह्रो छ । परिवार चलाउन गाह्रो छ,' उपाध्यक्ष थापाले भने, 'नेपाली जनता दरिद्र छन्, गरिब छन्, परिवार चलाउन विदेसिनुपर्ने बाध्यता छ ।' नेपाली जनतालाई सुखी र खुसी तुल्याउन तथा समृद्ध बनाउन समाजवादी क्रान्ति जरुरी रहेको उनले बताए ।
कुनै पनि दलको बहुमत नहुने गरेका कारण अस्थितरता बढेको उनको भनाइ थियो । 'यसै कारण निर्माण भएको संविधान पनि सहमतिको दस्ताबेजका रूपमा बनाउनु परेको हो । अहिले शान्ति र राजनीतिक स्थायीत्व नरहेकाले एमालेलाई निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता छ,' उनले भने ।
एमाले सप्तरीको दसौं जिल्ला अधिवेशनको बन्द सत्र आइतबारदेखि राजविराजमा हुने तयारी छ ।
