राजविराज — मलेठ घटनाका सहिदहरुको सम्मानमा शुक्रबार साँझ राजविराजमा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ ।
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनको अगुवाइमा सो पार्टीका कार्यकर्ताले मैनबत्ती बालेर राजविराज बजारमा प्रदर्शन गरे ।
२०७३ फागुन २३ गते सप्तरीको मलेठमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागि पाँच जनाको मृत्यु भएको थियो । नेपाल सरकारले पाँचैजनालाई सहिद घोषणा गरिसकेको छ ।
मलेठ घटनाको शुक्रबार आठ वर्ष पूरा भएको छ । सहिदप्रति सम्मान प्रकट गर्न आयोजना गरिएको मैनबत्ती जुलुस राजविराजको विभिन्न भागको परिक्रमा गर्दे जनआन्दोलन चोकमा पुगेर सम्पन्न भएको थियो ।
