राजविराज — सप्तरीको राजविराज नगरपालिका वडा नं ९ मलेठस्थित एक स्याउ गोदाममा गाँजा फेला परेको छ ।
गोदाम नजिकैको सडकबाट गइरहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दहालले सडक छेउको गोदाममा एक ट्रकबाट अर्को ट्रकमा शंकास्पद सामग्री अनलोड गरिरहेको देखेपछि शंका लागि सोधीखोजी गरे ।
प्रजिअ दहालले गोदाम सञ्चालकलाई बोलाएपछि उनी आएनन् । त्यसपछि गोदाम फोडेर हेर्दा भित्र गाँजा फेला परेको हो । जहाँ एक सयभन्दा बढी बोरामा गाँजा राखिएको थियो ।
गोदाम भित्र सिट नभएको एउटा स्कर्पियो पनि फेला परेको छ । अहिले उक्त स्थानमा प्रहरीले घेरा हालेको छ । गोदामको खानतलासी भइरहेको छ ।
प्रजिअ दहालले गाँजासँगै गोदाममा अन्य वस्तुहरु रहेकोले यकिन गर्ने कार्य भइरहेको जानकारी दिए । प्रारम्भिक अनुमानअनुसार तीन हजार किलोभन्दा बढी गाँजा उक्त गोदाममा रहेको छ ।
