राजविराज — सप्तरीको सप्तकोसी नगरपालिका-१ फत्तेपुरको खोरिया टोलमा सोमबार बिहान ७ बजेदेखि पसेको बाघ अझै पनि बस्तीमा नै छ ।
सुरक्षाकर्मी र वन कर्मचारीहरू बिहानैबाट बाघ निकाल्न लागि परे पनि बस्तीबाट निकाल्न सकिएको छैन । बाघको आक्रमणबाट गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाईसहित तीन जना घाइते छन् ।
बिहानै बाघ बस्ती प्रवेश गरेपछि अहिले सो क्षेत्रमा सर्वसाधारणको भागाभाग भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुन सक्ने अनुमान गरिएको छ ।
पछिल्लो केहीबेरदेखि उक्त बाघ एउटा फर्निचर उद्योगमा बसिरहेको छ । बाघलाई बस्तीबाट निकाल्ने प्रयास भइरहेको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।
