राजविराज — सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आइतबार राति स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी र सदस्यसहित विभिन्न विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।
फागुन १९ गतेसम्म दोस्रो, तेस्रो र चौथो वर्षमा भर्ना लिने समय तोकिए पनि दिउँसो कर्मचारी अभाव देखाएर भर्ना सुस्त गतीमा गर्ने र राति फर्जी विद्यार्थीलाई भर्ना गर्ने गरेको विरोधमा प्रदर्शन गरेको स्ववियु सभापति रंजित यादवले बताए । उनले चुनावका लागि निर्वाचन समिति घोषणा नगरेको, राति-राति फर्जी विद्यार्थी भर्ना गर्ने, कुनै राजनैतिक दलका जिल्ला समितिमा रहेकालाई निर्वाचन समिति बनाउन खोज्ने कार्य अघि बढाइएपछि विरोधमा उत्रेको बताए ।
निमित्त क्याम्पस प्रमुख बुलन साहले लेखा शाखा, प्रशासन शाखा र परीक्षा शाखाका कर्मचारीहरु तालिमका लागि बाहिर रहेकोले चापअनुसार विद्यार्थी भर्ना गर्न नसकिरहेको स्वीकारे । उनले कर्मचारी अभावमा कार्यालय सहयोगी सुकदेव दासलाई लगाएर भर्ना प्रक्रिया अघि बढाएको बताए ।
रातिको समयमा क्याम्पस परिसरमा विद्यार्थीहरुले प्रदर्शन चर्काएपछि महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
