सप्तरी — सप्तरीमा ४ वर्षीया बालिका र १४ वर्षीया किशोरीको बलात्कार भएको छ । छिन्नमस्ता गाउँपालिका–७ की ४ वर्षीया बालिकालाई छिमेकीले मोटरसाइकलमा एकान्तमा लगी बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
गत फागुन १४ गते सीमाक्षेत्रको भारतीय गाउँमा रहेका नातेदार बिरामी परेकोले ती बालिकालाई मोटरसाइकलमा त्यहाँ पुर्याइदिन आमाले छिमेकीलाई आग्रह गरेकी थिइन् । ती छिमेकीले बेलुका बेहोस अवस्थामा बालिकालाई घर ल्याएर छाडिदिएका थिए ।
अत्यधिक रक्तश्राव भएपछि बालिकालाई उपचारका लागि गजेन्द्रनारायण अस्पतालमा भर्ना गरिएको पीडित बालिकाकी आमाले बताइन् । सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बलात्कारमा संलग्नको खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।
यस्तै गत फागुन १४ गते नै सप्तरीको महदेवा गाउँपालिकामा १४ वर्षीय किशोरीको बलात्कार भएको छ । फागुन १४ गते राति पिसाब फेर्न घरनजिकै गएकी ती किशोरीलाई छिमेकी १७ वर्षीय किशोरले फकाएर आफ्नो पसलमा पुर्याएका थिए । पसलमै उनले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनाका आरोपीलाई पक्राउ गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।
