राजविराज — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा मंगलबार प्रमुख जिल्ला अधिकारी भोला दहालले छड्के अनुगमन गरेका छन् । पछिल्लो समय सरकारी सेवा प्रवाह हुने कार्यालयमा छड्के अनुगमन बढाएका प्रजिअ दहाल मंगलबार अस्पताल पुगेका हुन् ।
अस्पतालमा अधिकांश स्वास्थ्यकर्मी र कर्मचारीले तोकिएको पोसाक नलगाएको पाइएको प्रजिअ दहालले बताए । स्थायी तथा दरबन्दीमा रहेका कर्मचारीहरु बर्सेनि पोसाक भत्ता पाउने गरेका छन् ।
अनुगमनमा रहेका प्रशासन कार्यालयका नायव सुब्बा संजीव साहका अनुसार अनुगमनका क्रममा अनुपस्थित कर्मचारी संख्या पनि अत्यधिक थियो । प्रजिअ दहालले अस्पतालमा सरसफाइ अभाव देखिएको बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दहाल सहितको टोलीले दिएको निर्देशन र सुझाव कडाईका साथ कार्यान्वयन गर्ने बताए ।
