चिसो बढेपछि मुसहरबस्तीमा सास्ती 

पुस २६, २०८१

अवधेशकुमार झा

Suffering in Musharbasti after getting cold

सप्तरी — तिलाठी कोईलाडी गाँउपालिका-८ का ९ महिनाका बिक्की सदा चिसोका कारण आठ दिनदेखि बिरामी छन् । उनलाई रुघा र ज्वरोले सताएको छ ।

 ‘शितलहरले मजदुरी लागिरहेको छैन । घरमै बस्न पनि तनावपूर्ण छ,' बिक्कीकी हजुरआमा गीतादेवी सदाले भनिन्, 'नातिलाई राजविराज लगेर डाक्टरलाई देखाएँ । तर औषधिले काम गरिरहेको छैन । शितलहरले झन् बिरामी बढाएको छ।'

कोसी पश्चिमी नहरको डिलमा छाप्रो बनाएर बस्दै आएकी गीतादेवी गाउँनै शितलहरबाट पीडित रहेको बताउँछन् । नहरछेऊको यो बस्ती पुरै मुसहरको हो । अधिकांश परिवार शितलहरबाट समस्यामा परेका छन् ।

‘घरको टाटीमा ठूलो ठूलो प्वाल छ, एक त पानी बगिरहेको नहरको डिलमा हाम्रो बसोबास छ, त्यसमाथि कच्ची र हावा पस्ने घर छ,’ गीतादेवीले भनिन्, ‘पर्याप्त ओढ्ने ओछ्याउने कपडाको अभावमा हामी जाडो छल्न सकिरहेका छैनौँ ।’

शितलहरले मजदुरी गरेर खाने बाटो समेत बन्द भएको उनले बताइन् । 'मजदुरी गर्न नपाएपछि चुलो बाल्न सक्ने स्थिति छैन,' उनले भनिन् । कच्ची घरले शितलहरको सिरेटो छेक्दैन । शितलहर बढ्दै गर्दा ओत लाग्ने छत नभएका मुसहर परालको ओछ्यानमा सुत्छन् । लगाउने न्यानो कपडाको अभाव छ । 

Suffering in Musharbasti after getting cold

‘बिहानदेखि बेलुकासम्म चिसो हावासंगै शितलहरी चल्दा घुर सहारा भएको छ,’ स्थानीय अनितादेबी सदाले भनिन्,‘घरमा पर्याप्त लुगा छैन, कच्ची घर छ, हावा पनि छेक्न सक्दैन, जाडो छल्न मुस्किल छ ।’

बिहान हुने बितिकै बस्तीमा घरैपिच्छे घुर बाल्छन्, रातिसम्म घुरकै सहारामा जिउ न्यानो बनाउनुपर्ने अवस्था छ,' उनले भनिन्,‘कतै मजदुरी गर्न काम नपाउँदा छाक टार्ने थप समस्या आइपरेको छ ।’ 

नजिकै अर्को मुसहरबस्ती पनि छ, उत्तर तिलाठी कोईलाडी गाँउपालिका-८ मा । त्यहाँ पनि अवस्था उही छ । बलियो छत र न्यानो कपडा नहुँदा शितलहर छल्न आफूहरूका लागि कठिन बनेको स्थानीय भुलन सदाले बताए । ‘हामी गरिबलाई सँधै समस्या, मौसमको पनि समस्या,’ भुलनले भने,‘वर्षा र बाढी पनि हाम्रै घरमा पस्छ, जाडो र शितलहरी पनि हामीलाई नै खान्छ ।’ 

शितलहरीका कारण कतै जान नसक्दा बस्तीमा छाक टार्न अब अर्काको भर पर्नुपर्ने अवस्था आएको उनले सुनाए । यहाँका मुसहर मजदुर माटो काट्ने, ज्यालादारी गर्ने काम गर्छन् । बाह्रै महिना मजदुरी गरेपनि उनीहरूको आर्थिक जीवन उचो हुने गरी पारिश्रमिक पाउँदैनन् । ज्याला बढी माग गरे काम नै नपाउने अवस्था छ । 

Suffering in Musharbasti after getting cold

शितलहर सुरू भएपछि मधेशमा ठूलो संख्यामा रहेका मुसहरूलाई दैनिकी बिताउन कठिन बनेको छ । नेपालमा मुसहर समुदायको कुल जनसंख्या २ लाख ६४ हजार ९ सय ७४ छ । नदी, नहर र सडक वरपर आश्रय लिएर बसेका अधिकांश मुसहर भूमिहीन छन् । 

अवधेशकुमार झा

Link copied successfully