राजविराज — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी नेताहरूले समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । उनले मधेशका जनता मधेशी नेताका पछाडि तर मधेशी नेता मालिकका पछाडि कुदेर असमानता, शोषण, अपमान मात्र भएको बताउँदै मधेशी आफैं मालिक नबनेसम्म पूर्ण अधिकार र सम्मान प्राप्त नहुने बताएका हुन् ।
'जनतासँग जसपा नेपाल' कार्यक्रमअन्तर्गत सप्तरीको क्षेत्र नम्बर २ र ३ को संयुक्त अभिमुखीकरण कार्याक्रमलाई सप्तरीको विष्णुपुर गाउँपालिका परसाहीमा बिहीबार सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकमा राजतन्त्रको अन्तपछि बहुदलीय व्यवस्था र गणतन्त्र आए पनि मधेशीप्रतिको असामानता र विभेद भने हट्न नसकेको बताए ।
२००७ सालको परिवर्तनपछि पनि मधेशी समुदायप्रतिको अपमान नहटेको यादवले बताएका छन् । माओवादी संघर्ष र जनआन्दोलनपछि मधेशीको हक प्राप्तिमा आशावादी भए पनि मधेश आन्दोलनको बलमा केही विषयमा आशिंकबाहेक कांग्रेस, कम्युनिस्टले मधेशी,दलित,आदिवासी जनजाति,महिला,मुस्लिम र थारुलाई कुनै पहिचान नदिएको आरोप लगाए । समान हक र समान अवसर प्राप्त नभएसम्म मधेशी शोषित नै रहने बताउँदै अध्यक्ष यादवले मधेश र मधेशीलाई शाषक वर्गले आन्तरिक उपनिवेश बनाएको आरोप लगाए ।
विश्वमा नेपाल बढी भ्रष्टाचार हुने मुलुकमा चित्रित हुँदै गएको बताएका छन् । काग्रेस र कम्युनिस्टले मुलुकलाई काण्डैकाण्डमा फसाएको आरोप लगाउँदै यादवले सबै उद्योगधन्दा कलकारखाना बन्द गराएर कांग्रेस कम्युनिस्ट देशलाई भड्खालोमा लगेको आरोप लगाए ।
