राजगढ गाउँपालिकाले दियो विद्यालयमा एक साता बिदा
राजविराज — अत्यधिक जाडोसँगै चिसो हावा चलेपछि यहाँका जनजीवन प्रभावित भएको छ । अघिल्ला दिनहरुको तुलनामा मंगलबार बिहानबाट चिसो हावा चल्नाले जाडो अत्यधिक बढेको हो ।
मंगलबार बिहानै भूकम्पको धक्का महसुसपछि बदलिएको सप्तरीलगायत क्षेत्रको मौसम दिन लाग्नासाथ थप बिग्रिएको छ । अत्यधिक रुपमा चिसो हावा चल्नाका कारण जनजीवन प्रभावित भएको हो । चिसो अत्यधिक बढेपछि बजार क्षेत्रमा सर्वसाधारणको उपस्थिति पातलिँदो छ । सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको संख्या घट्दो क्रममा छ ।
मंगलबार बिहानबाट मौसम परिवर्तित हुँदै अत्यधिक चिसो बढेपछि शितलहर चल्दा पशु चौपायासमेत समस्यामा परेको छ । पशु चौपायालाई गोठघर (गुहाली) र दरबजामै बाक्लो कपडाको ओढ्ना दिएर न्यानो बनाएर राख्दै चौपायालाई जाडोबाट बचाउन ग्रामीण क्षेत्रमा घुरसमेत बाल्न सुरु गरिएको छ ।
जाडो बढ्दै शितलहर चल्न थालेपछि विपन्न बस्तीहरुमा न्यानो लुगाको अभावमा सर्वसाधारणलाई जाडो छल्न मुस्किल भएको छ ।
यसैबीच सप्तरीको राजगढ गाउँपालिकाले शितलहर चल्न थालेकाले विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दे वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी पालिकाका विद्यालयहरुमा बिदा दिएको छ । पुस २४ देखि माघ १ गतेसम्म विद्यालयहरु बन्द रहने पालिकाले मंगलबार जारी सूचनामा उल्लेख छ ।
