राजविराज — जिल्ला मालपोत कार्यालय सप्तरीमा फेरि किर्ते काण्ड सार्वजनिक भएको छ । अमेरिकामा रहेका जग्गाधनीले पत्तै नपाई उनको जग्गा खरिद–बिक्री गरिएको रहस्य खुलेसँगै मालपोत सप्तरीमा अर्को किर्ते सार्वजनिक भएको हो ।
कार्यालयकै कर्मचारीको मिलेमतोमा सक्रिय किर्ते गिरोहले जग्गाधनीलाई थाहै नदिई जग्गा बिक्री गरेको हो ।
सप्तरी जिल्लाको साविक बैरवा गाविस ६ घर भई हाल अमेरिका बस्दै आएकी उषादेवी अर्यालको नाउँमा रहेको राजविराज नगरपालिका ६ को कित्ता नम्बर ३५२ को २ कठठा, कित्ता नम्बर ३९४ को ८ धुर र कित्ता नम्बर ३९७ को एक कठठा एक धुर जग्गा मालपोत कर्मचारीको मिलेमतोमा किर्ते गर्ने गिरोहले अर्याललाई थाहै नदिई बिक्री गरेको हो । उनको जग्गा पहिलो चरणमा साबिक फर्सेठ गाविस ९ का फुदन साहले रसिद नम्बर ८७८५ नम्बरबाट ०७४ साल पुस १३ गते किर्ते लिखत खडा गरी आफनो नाममा राजीनामा पास गराएका थिए । त्यस समयमा मूल जग्गाधनी अर्याल अमेरिका थिइन् ।
फुदन साहले किर्ते लिखत कायम गरी आफनो नाममा किर्ते राजीनामा पास गराएको जग्गा फेरि कर्मचारीकै मिलेमतोमा अर्को व्यक्तिलाई समेत बिक्री गरेका थिए । ०७४ पुसमा किर्ते गरी अर्काको जग्गा आफनो नाममा पारेका फुदनले एक महिनापछि ०७४ माघ १४ गते रसिद नम्बर १००४५ मार्फत कित्ता नम्बर ३९४ को ८ धुर र कित्ता नम्बर ३९७ को एक कठठा एक धुर जग्गा साविक गम्हरिया प्रवाहा गाविस ७ की घुरनीदेवी साहको नाममा राजिनामा पास गरिदिएका थिए ।
यस्तै रसिद नं १०३३१ बाट ०७४ माघ १७ गतेका दिन कित्ता नम्बर ३५२ को २ कठठा जग्गा राजविराज ४ की देवरानी दासको नाममा राजीनामा पास गरिदिएका थिए ।
सप्तरी प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार उषादेवी अर्यालको जग्गा आफनो नाममा गर्ने बेलादेखि नै यो प्रकरणमा किर्ते काम सुरु भएको थियो । उनका अनुसार अर्यालको नामबाट फुदन साहको नाममा राजीनामा गरिएको भनिएको ८७८५ नम्बरको रसिद आशादेवी यादवले भीम नौनियालाई कानुनी रूपमा बेचेको जग्गामा प्रयोग भएको रसिद नम्बर हो ।
प्रहरीले उषादेवी अर्यालको जग्गा किर्ते गरी बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा चार जना सरकारी कर्मचारीसहित १० जनामाथि सरकारी कागज किर्ते र ठगी मुद्दा अगाडि बढाएको छ ।
प्रतिवादी बनाइएका १० जनामध्ये चार जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख सिंहले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरूमा अर्यालको जग्गा किर्ते गरी आफनो नाममा पार्ने राजविराज १३ का फुदन साह, उनीबाट जग्गा राजीनामा भएर गएको राजविराज ४ की देवरानी दास र जिल्ला मालपोत कार्यालय सप्तरीमा कार्यरत नायब सुब्बाद्वय राजविराज ९ का सीताराम चौधरी र दुहबी ४ सुनसरीका उद्धव खतिवडा रहेका छन् ।
मुद्दामा प्रतिवादी बनाइएका फुदनका छोरा शंकर साह, राजविराज ९ का उपेन्द्र शर्मा, मालपोत कार्यालयका कार्यालय सहयोगी हरिनारायण शर्मा र जिल्ला मालपोत कार्यालय सप्तरीका अर्का नायब सुब्बा रामनारायण शर्मा, डाकनेश्वरी ८ की घुरनीदेवी साह र राजविराज ६ का रामरतन साह फरार रहेको र उनीहरूको खोजी भइरहेको एसपी सिंहले जनाए । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरिएको छ ।
