हनुमाननगर जेल काण्डका ७५ वर्ष पूरा

जेष्ठ १०, २०७५

राजविराज — हनुमाननगर जेल काण्ड भएको ७५ वर्ष पूरा भएको छ । विसं २००० साल जेठ ९ गते राति १२ बजे हनुमाननगरस्थित गारथमा नेपाली र भारतीय क्रान्तिकारीले आक्रमण गरी भारतीय समाजवादी नेतालाई मुक्त गराएका थिए । भारत स्वतन्त्र भएको विषय सप्तरीको हनुमाननगरको नामबिना अधुरो रहन्छ ।

के थियो हनुमाननगर जेल काण्ड
भारतमा अंग्रेजको शासन थियो । नेपालमा जहानियाँ राणा शासन । राणा र अंग्रेजबीच सामीप्य थियो । भारतमा स्वतन्त्रताको कुरा गर्नेलाई ब्रिटिस शासकको हण्डर खानुपर्ने अवस्था थियो भने नेपालमा भर्खर सुरु भएको राणाविरोधी आन्दोलनलाई रोक्न शासक झनै क्रुर बन्दै गएका थिए । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्दलाई राणाविरोधी भएकै कारण झुन्डयाइएको थियो ।

भारतमा ब्रिटिस साम्राज्यविरुद्धमा आन्दोलन चर्कियो । इन्डियन कांग्रेसका जयप्रकाश नारायण, राममनोहर लोहियालगायत नेता भारतका विभिन्न भागमा पुग्दै आन्दोलनमा जनसमर्थन जुटाउँदै अंग्रेज शासनका विरुद्धमा संघर्षरत थिए । त्यही क्रममा मुम्बईमा रहेर राममनोहर लोहियाले आन्दोलन चर्काउने योजना बुनिरहेका बेला अंग्रेजले समाजवादी नेता जयप्रकाश नारायणलाई पक्राउ गर्‍यो । उनलाई भारतकै हजारीबाग जेलमा राखियो । सप्तरीका राजनीतिज्ञ खुसीलाल मण्डलका अनुसार जयप्रकाश नारायण पक्राउ गरिएपछि भारतीय स्वतन्त्रता आन्दोलन केही शिथिल बन्यो । भारतीय आन्दोलनकारी समक्ष चुनौती थपियो । उनीहरूले जयप्रकाश नारायणलाई जसरी भए पनि जेलबाट निकाल्ने योजना बनाए । तर सफलता प्राप्त भइरहेको थिएन । हजारीबाग जेलमै नाटक प्रदर्शन गर्ने योजना बनाइयो । कैदीबन्दीले जेलभित्रै गर्ने नाटकको पूर्वाभ्यासका क्रममा डोरीको मद्दतले जयप्रकाश नारायणलाई अन्य कैदीले भगाए । जेलबाट उनलाई भगाएपछि स्वतन्त्रता पक्षधरविरुद्ध ब्रिटिस सरकार थप क्रुर बन्यो ।

राजनीतिज्ञ मण्डलका अनुसार हजारीबाग जेलबाट भागेपछि जयप्रकाश नारायण र मुम्बईबाट विहार आएका डा. लोहियासहितका समाजवादी नेताले भारतीय स्वतन्त्रता आन्दोलनलाई थप उचाइमा पुर्‍याउन ‘आजाद दस्ता’ नामक संगठन खोले । आजाद दस्ताले अंग्रेजका विरुद्धका सशक्त र सशस्त्र आन्दोलन गर्ने निष्कर्षसहित अगाडि बढेपछि भारतीय सीमाभित्र बसेर उनीहरूको योजना सफलता चुम्न सकेन । स्वतन्त्रता पक्षधर समाजवादी नेताले सीमा क्षेत्रमा नेपाली भूमि प्रयोग गरेर स्वतन्त्रता आन्दोलन अगाडि बढाउने निधो गरे ।

उनीहरूले बिहारमा समाजवादी नेता सुरजनारायण सिंहलाई साथमा लिएर सप्तरीको कोइलाडी बरसाइन आए । बरसाइनमा तत्कालीन राणाविरोधी आन्दोलनलाई मलजल गरिरहेका रामेश्वरप्रसाद सिंह, चतुरानन्द सिंह, जयमंगल प्रसाद सिंह (रामराजाप्रसाद सिंहका बुवा) सँग समाजवादी नेताहरूको बैठक भयो । नेपाली नेताहरूले भारतीय स्वतन्त्रता आन्दोलनलाई सहयोग गर्ने वचन दिए । त्यसपछि भारतीय समाजवादी नेताले नेपालमै क्याम्प राखेर अंग्रेजविरोधी आन्दोलन हाँक्ने सोच बनाए ।

उनीहरूले हालको सुनसरीको लौकही नजिक रहेको हल्दीबारीमा क्याम्प स्थापना गरे । नेपाली नेता रामेश्वरप्रसाद सिंहका छोरा वरिष्ठ अधिवक्ता हिम्मत सिंहका अनुसार हल्दीबारीमा क्याम्प स्थापना गरेपछि भारतीय नेताले सशस्त्र आन्दोलनका लागि आजाद दस्ताका सिपाहीलाई तालिम दिने स्थानको खोजी गरे । चुरे पहाडको छेउमा सुरुङ्गामा उनीहरूले ट्रेनिङ सेन्टर स्थापना गरे । ट्रेनिङ सेन्टर सञ्चालन गर्न रकम अभाव भएपछि भक्तपुरका जमिनदार दलबहादुर प्रजापतिले सप्तरीको खुदीबखारीस्थित आफ्नो कामतको उब्जनीबाट आउने रकम स्वतन्त्रता पक्षधरहरूको भरणपोषणका लागि दिन थाले । अनि सुरु भयो नेपाली भूमिबाट अंग्रेजविरोधी आन्दोलन । राजनीतिज्ञ मण्डलका अनुसार सुरुमा राणा शासकहरूले भारतीय समाजवादीको विषयमा बढी सोधखोज नगरे पनि पछि अंग्रेज शासकको आग्रहपछि राणाशासकले उनीहरूका विरुद्धमा कठोरता अपनाउने काम सुरु गरे ।

हल्दीबारी क्याम्पबाट राणाशासकले भारतीय स्वतन्त्रता आन्दोलनका अगुवाद्वय जयप्रकाश नारायण, डा. राममनोहर लोहियासहित कार्तिकप्रसाद सिंह, डा. बैजनाथ झा, ब्रजकिशोर शास्त्री, बाबा श्यामनन्दनलाई पक्राउ गर्‍यो । उनीहरूलाई पक्राउ गरी हनुमाननगर गारथमा ल्याइयो । त्यो बेला हनुमाननगरबाट सप्तरीको सदरमुकाम राजविराज सारिए पनि बडाहाकिमको कार्यालय, गोस्वरा र गारथ भने हनुमाननगरमै थियो । भारतीय समाजवादी नेतालाई पक्राउ गरिसकेपछि राणा शासकले उनीहरूलाई अंग्रेजलाई सुम्पने योजना बनाए । उता, भारतमा उनीहरूलाई फाँसी झुन्डयाउने अंग्रेज शासकको तयारी थियो ।

समाजवादी नेताहरूलाई ब्रिटिसलाई सुम्पे स्वतन्त्रता आन्दोलनलाई नै धक्का लाग्ने भएपछि भारतीय नेताहरू र नेपालमा कोइलाडी र बरसाइनका नेताहरू रामेशवरप्रसाद सिंह, जयमंगलप्रसाद सिंह, चतुरानन्द सिंह, मीनबहादुर सिंह लगायतका नेताले उनीहरूलाई जेलबाट भगाउने योजना बनाए ।

विसं २००० सालको जेठ ९ गते राति १२ बजे हनुमाननगरस्थित जेल (गारथ) मा आक्रमण गरेर भारतीय समाजवादी नेतालाई भगाउने योजना बुनियो । बरसाइनका रामेश्वरप्रसाद सिंहको घरमा छोरीको विवाह थियो । विवाहमा धेरै मानिस आएकाले राणाका खुफियाहरूले आजाद दस्ताका लडाकुका बारेमा सुइँको पाउन सकेनन ।

आफ्नो दिदीको जन्तीका लागि बनाइएको खाना आजाद दस्ताका लडाकुलाई खुवाई जेल आक्रमण गर्न पठाएको रामेश्वरप्रसाद सिंहका छोरा वरिष्ठ अधिवक्ता हिम्मत सिंहले बताए । गारथ (जेल) माथि आजाद दस्ताले सशस्त्र आक्रमण गर्‍यो । गारथको छेउमा रहेको परालको टालमा आगो लगाएपछि त्यहाँ रहेका राणा शासनका सिपाहीको ध्यान उता केन्द्रित भएपछि उनीहरूलाई नियन्त्रणमा लिँदै गारथभित्र राखिएका समाजवादी नेताहरू जयप्रकाश नारायण, डा. लोहियासहितलाई भगाउन आजाद दस्ता सफल भयो । जेलबाट भगाएपछि नेपाली नेताहरूले उनीहरूलाई कोसी हँुदै भारत पठाए । परिणाम सन् १९४७ को १५ अगस्तका दिन भारत ब्रिटिसको शासनबाट स्वतन्त्र भयो ।

गारथमा आक्रमण गरी भारतीय नेताहरूलाई भगाइएपछि राणाहरू नेपाली स्वतन्त्रता पक्षधर नेताहरूप्रति झन क्रुर भए । रामेशवरप्रसाद सिंह, जयमंगलप्रसाद सिंह, चतुरानन्द सिंह लगायत करिब २ सय जनालाई राणा शासनले सप्तरीबाट पक्राउ गरी केन्द्रीय कारागार लगे । राजनीतिज्ञ खुशीलाल मण्डलका अनुसार राणा शासनको यातनाकै कारण केन्द्रीय कारागारमा रहेका सप्तरीका अब्दुल मियाँ र कृष्णबिर कामीको बन्दी अवस्थामै मृत्यु भयो ।

राणा शासनका विरुद्ध पहिलोपटक हनुमाननगर जेलकाण्डका बेला गोली चल्यो । टंकप्रसाद आचार्यको नेतृत्वमा रहेको प्रजा परिषद काठमाडौं बाहिर गतिविधि गर्न नसकिरहेका बेला हनुमाननगर काण्डले सप्तरीलगायत जिल्लामा राणाविरोधी आन्दोलन चर्काउने पृष्ठभूमि तयार गरेको लेखक तथा अधिवक्ता रामनारायण देवको कथन छ । ‘भारतीय नेताहरूलाई जेल तोडेर भगाएपछि राणाविरोधी आन्दोलनको पृष्ठभूमि तयार भयो,’ देवले भने, ‘त्यो घटनाले सप्तरीवासीमा राणाका विरुद्धमा लाग्न नयाँ चेतना र जागरुकता प्रदान गर्‍यो ।’

Link copied successfully