वन्यजन्तुका लागि बर्दियाका वनमा आठ वटा पोखरी

बारबर्दिया र ठाकुरबाबा नगर तथा बढैयाताल गाउँपालिकाका सामुदायिक वन उपभोक्ता समुहसँग मिलेर डिभिजन वन कार्यालय, बर्दियाले पोखरी निर्माण गरेको हो ।

श्रावण २, २०८३

रामप्रसाद चौहान 

Eight ponds in Bardiya forests for wildlife

बर्दिया — सामुदायिक वनमा प्राकृतिकरूपमा पानी जम्ने ठाउँमा थप सुधार सम्भार गरि डिभिजन वन कार्यालय, बर्दियाले गत आर्थिक वर्षमा आठ वटा पोखरी निर्माण गरेको छ ।

वन्यजन्तुलाई पानीको अभाव नहोस् भन्ने उद्देश्यले वनमा ‘खोदाउताल’ निर्माण गरिएको बारबर्दिया नगरपालिका–९ जनकल्याण सामुदायिक वनका अध्यक्ष देबेन्द्रबहादुर थापाले बताए । ‘गर्मीयाम सुरू भएपछि वनमा पानीको सबै स्रोत सुक्ने हुँदा वन्यजन्तु पानीको खोजीमा वनक्षेत्र बाहिर निस्किन्थे,’ उनले भने, ‘जसले गर्दा मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्ने खतरा थियो । वनमा पोखरी निर्माण हुँदा पानीको खोजीमा वन्यजन्तु बाहिर निस्कने बाध्यता हटेको छ ।’

आव ०८२/८३ मा मानव–वन्यजन्तु बीचको द्वन्द्व न्युनिकरणको लागि डिभिजन वनको सहकार्यमा १ हजार ४ सय मिटर मेस वयर र ५ सय मिटर काँडेतार लगाईएको अध्यक्ष थापाले जनाए ।

वनमा पोखरी निर्माण हुँदा वन्यजन्तुले बासस्थान छोडेर अन्यत्र जाने र वन बाहिर निस्कने क्रममा कमी भएको जनकल्याण सामुदायिक वनका सदस्य हरिबहादुर खड्काले बताए । वनमा पोखरी निर्माण हुँदा विभिन्न किसिमका चरा चुरुङ्गीको संख्यामा पनि उलेख्य वृद्धि भएको उनले सुनाए ।

‘सामुदायिक वनमा निर्माण गरिएको पोखरीलाई ‘वाटर स्टोरेज’ भनिन्छ, यसले वर्षातको पानी संकलन गर्छ,’ डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले भने, ‘पोखरीमा पानी संचित भएपछि पानी रिचार्ज हुन्छ ।’ यसले गर्दा वन्यजन्तुलाई पानी उपलब्ध हुन्छ, वनमा डढेलो लाग्दा निभाउन पनि मद्दत पुग्ने र वनक्षेत्र हराभरा रहने उनले जनाए ।

आव ०८२/८३ मा ३७ लाख ७४ हजार रूपैयाँ लागतमा आठ वटा सामुदायिक वन उपभोक्ता समुहमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी शिवबहादुर केसीले बताए । बारबर्दिया नगरपालिकास्थित जनकल्याण, बैदा, पेरहवा, भैरव, बुक्की हरियाली, बढैयाताल गाउँपालिकाको तिलकाना, बग्दैला र ठाकुरबाबा नगरपालिका–५ स्थित पेरौहुवा चटिया सामुदायिक वन उपभोक्ता समुहले पोखरी निर्माण गरेका हुन् ।

यस्तै, मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरण र अतिक्रमण रोक्न ४० किलोमिटर तारबार गरिएको सुचना अधिकारी केसीले जानकारी दिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully