चर्को गर्मीमा अनियमित बिजुली र न्यून भोल्टेजले सास्ती

बर्दियामा लामो समयदेखि न्यून भोल्टेज र बेलाबेला हुने विद्युत कटौतीका कारण सर्वसाधारण हैरान बनेका छन् भने उपकरणसमेत बिग्रने चिन्ता छ।

असार १२, २०८३

रामप्रसाद चौहान 

Irregular electricity and low voltage plague the country during the scorching heat

What you should know

बर्दिया — चर्को गर्मीमा न्यून विद्युत भोल्टेजले राम्रोसँग पंखा घुम्दैन । न्यून विद्युत भोल्टेजकै कारण अन्य विद्युतीय उपकरण राम्रोसँग चल्दैनन् । बेलाबेला विद्युत कटौती हुँदा बर्दियाका सर्वसाधारण हैरान बनेका छन् । 

बेलाबेला विद्युत आउने जाने क्रमले फ्रिज, मोटरलगायत विद्युतीय उपकरण बिग्रिने चिन्तासमेत बढको छ । न्यून भोल्टेज र बेलाबेला विद्युत कटौती पहिलादेखिको समस्या हो । तर, लामो समयदेखिको समस्या गुलरिया वितरण केन्द्रले समाधान गर्न नसक्नु चरम लापरवाही रहेको सर्वसाधारणले गुनासो गर्छन् ।

बस्ती वरिपरी हरेक दिनजसो रातिमा चितुवा देखिने गरेको गुलरिया नगरपालिका–८ की सुनिता चौधरीले बताइन् । ‘न्यून भोल्टेजका कारण पंखा घुम्दैन,’ उनले भनिन्,‘अत्याधिक गर्मीमा पंखा नचल्दा घरभित्र सुत्न सकिदैन । चितुवाको त्रासबीच साना बालबच्चासहित बाहिर सुत्नुपर्छ ।’ 

गर्मी सिजन सुरु भएसँगै सधैं विद्युतको यस्तै समस्या हुने गरेको गुलरिया नगरपालिका–१० का रमेश लोधले बताए । ‘दिनभरि गर्मीमा काम गर्छौं, रातिमा मज्जाले निदाउन पनि सक्दैनौं । घरमा विद्युत लाइन जोडेर महसुल बुझाउने काम मात्र भइरहेको छ ।’

न्यून भोल्टेजले रातिमा बल्बसमेत राम्रोसँग नबल्ने गरेको गुलरिया नगरपालिका–८ की प्रतिक्षा कुमारी चौधरीले बताइन् । ‘वितरण केन्द्रका प्रमुखलाई उक्त समस्याबारे जानकारी गराउँदा वडा कार्यालयबाट सिफारिस लिएर आउन भन्नुभएको थियो,’ उनले भनिन्,‘वडा कार्यालयबाट सिफारिस लिएर विद्युत कार्यालयमा बुझाएको एक महिना बढी भइसकेको छ । विद्युतमा सिफारिस लिएर जाँदा फिल्डमा बुझ्न आउने आश्वासन दिएर पठाए । तर, अझैसम्म समस्या जस्ताको त्यस्तै छ । विद्युतबाट समस्या बुझ्न कोही पनि आएको छैन ।’

अत्यधिक गर्मीमा पंखा नचल्दा घरभित्र बस्न मुस्किल भइरहेको स्थानीयले दुखेसो गर्छन् । भोल्टेजको समस्या जिल्लाभरि रहेको नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रका प्रमुख ईन्जिनियर शेरबहादुर सुनारले बताए । ‘भोल्टेजको समस्या समाधान गर्न ट्रान्सफर्मर राख्नपर्छ,’ प्रमुख सुनारले भने,‘बजेट अभावको कारणले त्यो काम भएको छैन ।’

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully