मानसिक रूपमा अस्वस्थ रहेकी ती बालिकालाई कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन नसकेर खोरमा बाँधेर राखिएको थियो ।
बर्दिया — पाँच वर्षदेखि बाख्राको खोरमा बाँधेर राखिएकी मधुवन नगरपालिका–५, गाउँ नम्बर १० की ८ वर्षीया बालिकाको मधुवन नगरपालिकाले उपचार गर्ने भएको छ । सोमबार ती बालिकासम्बन्धी समाचार प्रकाशन भएपछि नगरपालिकाले ध्यानाकर्षण भएको जनाउँदै बालिकाको उपचार गर्ने निर्णय गरेको हो ।
मधुवन नगरपालिकाको महिला बालबालिका शाखाको आयोजनामा उप–प्रमुख अनिता चौधरीको सभाध्यक्षतामा मंगलबार बसेको बालअधिकार समितिको बैठकले ती बालिकाको उपचार गर्ने निर्णय गरेको हो । बालिकाको उपचार तथा यातायात खर्च सबै नगरपालिका र बाँके युनेस्को क्लबले व्यहोर्ने निर्णय भएको बाल अधिकार समितिले जनाएको छ ।
मानसिक रूपमा अस्वस्थ रहेकी ती बालिकालाई कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन नसकेर खोरमा बाँधेर राखिएको थियो । बालिकाको तत्काल उद्धार र उपचारका लागि सम्बन्धित पालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । 'अब उनको छिट्टै उपचार हुने भएको छ,' प्रजिअ हमालले भने ।
