बाख्राको खोरमा बाँधिन्छिन् ८ वर्षीया बालिका

मधुवन–५ स्थित गाउँ नम्बर १० मा आर्थिक अभावले उपचार गराउन नसक्दा एक आठ वर्षीया बालिका पाँच वर्षदेखि बाख्राको खोरमा बाँधेर राख्ने गरिएको छ ।

वैशाख १४, २०८३

रामप्रसाद चौहान 

8-year-old girl tied to goat pen

What you should know

बर्दिया — मधुवन नगरपालिका–५ गाउँ नम्बर १० मा पाँच वर्षदेखि ८ वर्षीया एक बालिकालाई बाख्राको खोरमा बाँधेर राख्ने गरिएको छ । आर्थिक अवस्थाले उपचार गराउन नसक्दा मानसिक रुपमा अस्वस्थ रहेकी ती बालिकालाई दिउँसो खोरमा बाँधेर राख्ने गरिएको हो । बालिका जताततै हिँड्ने र भाग्ने गरेकोले खोरमा बाँध्न बाध्य रहेको आमा पार्वती गाहा मगरले बताइन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१ घर भएकी पार्वती मधुवन–५ स्थित माइतीमै बस्दै आएकी छिन् । उनका श्रीमान् डम्मर गाहा मगर मजदुरीका लागि भारतमा गर्छन् । भेरीगंगा–१ मा एक्लो घर रहेकोले बालबच्चा लिएर माइतीमा बस्दै आएको पार्वतीले बताइन् । उनका तीन छोरी छन् । जेठी छोरी १३ वर्षकी र कान्छी ६ वर्षकी छन् । उनीहरु दुवै स्वस्थ छन् । ८ वर्षीया माइली छोरीको मानसिक स्वास्थ्य ठीक नरहेको उनले बताइन् । ‘माइली छोरी साढे दुई वर्षकी हुँदा ज्वरो आएर अचानक बिरामी भएकी थिइन् । त्यसअघि ठीक थिइन्,’ पार्वतीले भनिन्,‘छोरीलाई औषधि गराउँदा ठीक भइन् । एक दिन काखमा लिएका बेला एक्कासी थरथरी कापेर शरीर तन्काइन् । त्यसपछि हिँड्न, बस्न र बोल्न छोडिन् ।’

आर्थिक स्थितीले भ्याएसम्म नेपालगन्ज र कोहलपुर लगेर औषधि गराउँदा निको नभएको उनको भनाई छ । कुन अस्पतालमा औषधि गराएको पार्वतीलाई सम्झना छैन । जाँच गराएको कागजपत्र छोरीले च्याएर फालेको उनी बताउँछिन् । ‘आर्थिक स्थिती नाजुक भएकोले उपचारको लागि कतै बाहिर लैजान सकिन,’ उनले भनिन्,‘भारतको कल्लुगौडी भन्ने ठाउँबाट जडीबुटी मिलाएको तेलले मालिस गर्दा छोरी हिँड्न सक्ने भइन् । तर, स्पष्ट बोली आएन र मानसिक स्थिती पनि ठीक नभएको व्यवहार देखाउन थलिन् ।’

छोरीलाई दिनभरि कुरेर खान नपुग्ने भएकाले यसरी बाँधेर काममा जाने गरेको उनले बताइन् । ‘खेतबारीमा काम गर्नुपर्छ । छोरी जताततै भाग्ने भएर खुट्टामा डोरीले बाँधेर राख्ने गरेकी छु,’ पार्वतीले भनिन्, ‘दिनमा बाहिर घाम भएकोले बाख्राको खोरमा बाँधेर राख्छु, खोरको माथिबाट भाग्न खोज्ने भएकाले खुट्टामा बाध्नुपर्छ । राति सुत्ने बेला मात्रै खोरबाट निकाल्छु ।’ भोक लागेको नभने पनि आफैले समय समयमा खान दिएपछि खाने गरेको सुनाइन् । ‘कहिलेकाँही दिदीबहिनीलाई चिने जस्तो गरेर काखमा बस्ने र खेल्ने जस्तो गरे पनि धेरै वास्ता देखाउँदैन । राति आफुसँगै सुताउँछु । कहिलेकाँही मज्जाले सुत्ने र कहिले सुत्दैन ।’ उपचार गराएर छोरीलाई सन्चो बनाउने इच्छा भए पनि खर्चको समस्याले कतै लैजान नपाएउको उनले बताइन् ।

सुर्खेत बिहे गरेकी पार्वती २/३ वर्षदेखि बच्चासहित माइतीमै बस्दै आएकी छिन् । बालिकाका मामा नारायण गुरुङले मजदुरी गरेर जसोतसो गुजारा चलिरहेकाले भान्जीको उपचार गराउन नसकिएको बताए ।

मधुवन नगरपालिका–५ का वडाध्यक्ष दिलिप गुरुङले बालिकालाई खोरमा बाँधेर राख्ने गरेको थाहा पाएपछि सुर्खेत गएर अपांगताको कार्ड बनाउन धेरै पटक अनुरोध गरेको बताए । ‘हाम्रो वडाबाट अपांगता कार्ड बनाउन सम्भव भएन । बालिकाको परिवारलाई सुर्खेत गएर कार्ड बनाउन अनुरोध गरेको छु ।’ तत्कालको लागि वडाबाट ५ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष गुरुङले बताए ।

बालिकालाई खोरमा राखेको जानकारी पाएपछि गएर यसरी बाँधेर नराख्न सम्झाएको मधुवन नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण उप–शाखाकी प्रमुख इन्द्रा चुनाराले बताइन् । ‘बालिकाको उद्धारका लागि कुरासमेत गरेका थियौं । तर बालिका अन्य जिल्लाको भएकोले त्यो सम्भव भएन,’ उनले भनिन्,‘अब बालिकाको उद्धार र उपचारको लागि तत्काल पहल गर्छौं ।’ नागरिक समाज सञ्जाल बर्दियाकी संयोजक हिमा सुनारले बालिकाको परिवारको स्थितीले उपचार गराउन नभ्याएपछि राज्यले उद्धार र उपचार गराउनुपर्ने बताइन् । ‘बौद्धिक अपांगता भएकाको स्याहार गर्ने सम्बन्धी बालिकाको परिवारलाई समेत मनोसामाजिक परामर्श दिन आवश्यकता देखिन्छ,’ उनले भनिन् ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully