१८ दिने विपद्सम्बन्धी तालिमले धेरै कुरा सिकाउने अपेक्षा राखेको राजापुर नगरपालिका–५ की प्रशिक्षार्थी पार्वती थारुले बताइन् ।
What you should know
बर्दिया — जिल्लामा समुदाय विपद् स्वयंसेवक आधारभूत तालिम सुरु भएको छ । गुलरिया नगरपालिका–८ सुरजपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वार्टरमा बिहीबार तालिमको उद्घाटन भएको हो ।
तालिममा सहभागी प्रशिक्षार्थीलाई विपद् व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान, बाढीपहिरो, डुबान, डोरीद्वारा गरिने उद्धार, सडक तथा यान्त्रिक दुर्घटनामा उद्धार, लागलागी नियन्त्रण, भूकम्पीय जोखिम न्यूनीकरण पहिलो उपचारका बारेमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइयो । उक्त तालिम वैशाख २४ गतेसम्म चल्नेछ ।
१८ दिने विपद्सम्बन्धी तालिमले धेरै कुरा सिकाउने अपेक्षा राखेको राजापुर नगरपालिका–५ की प्रशिक्षार्थी पार्वती थारुले बताइन् । । ‘राजापुरमा बाढीको जोखिमका साथै बाघ आक्रमण पनि बढी हुन्छ,’ उनले भनिन्, ‘यस तालिमबाट विपद्बाट आफू कसरी बच्ने र अरूलाई कसरी सुरक्षित राख्ने विषयमा सिकेर समुदायका अरुलाई सिकाउनेछु ।’
आर्थिक वर्ष ०८२/०८३ मा ५० जना समुदाय विपद् स्वयंसेवक तयार गर्ने कार्ययोजना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणका गणपति दिनेशकुमार महतले बताए । ‘अहिले संचालन भएको तालिममा जिल्लाका आठवटै पालिकाबाट २५ जना प्रशिक्षार्थी सहभागी छन् र यो तालिम समापनपश्चात् पुनः अर्को तालिम संचालन हुनेछ,’ गणपति महतले भने, ‘उत्कृष्ट ढंगबाट तालिम संचालन गर्न सशस्त्र प्रहरी निरीक्षकसहित ९ जना प्रशिक्षक खटाइएको छ ।’ यस तालिमले विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । विपद् प्रतिकार्यको तयारीस्वरूप यस गणबाट जिल्लाका प्रत्येक वडामा २५ जनाका दरले विपद् सूचकसमेत निर्माण गरिएको छ ।
वडास्तरदेखि संघस्तरसम्म विपद् व्यवस्थापनको बलियो संरचना छ तर विपद्को पूर्वतयारी, व्यवस्थापन गर्ने सन्दर्भमा आफूहरू अत्यन्तै पछाडि रहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । ‘पालिकास्तरमा सशस्त्र प्रहरी बलले यो वर्ष ५० जना समुदाय विपद् स्वयंसेवक उत्पादन गर्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘यस कार्यमा सशस्त्र प्रहरी बललाई विशेष धन्यवाद दिन चाहन्छु ।’
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वार्टर बर्दियाको आयोजना, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समितिहरूको समन्वय र बिग्रुपको सहयोगमा तालिम संचालन भएको हो ।
