खाता जैविक मार्ग हुँदै ओहोरदोहोर गर्ने हात्तीले यस क्षेत्रका घर भत्काउने गरेकाले तराई भू–परिधि तथा संरक्षण कार्यक्रम कोहलपुरको आर्थिक सहयोगमा तीन वर्षदेखि लघु घर बिमा कार्यक्रम सञ्चालनमा रहेको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए ।
What you should know
बर्दिया — मधुवन नगरपालिका–३ स्थित खाता संरक्षित क्षेत्र (खाता जैविक मार्ग)ले बर्दिया निकुञ्जलाई भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षसित जोड्छ । यही मार्ग भएर वन्यजन्तु नेपाल–भारत ओहोरदोहोर गर्छन् । यही मार्ग भएर वन्यजन्तु ओहोरदोहोर गर्ने भएकाले मध्यवर्ती क्षेत्रमा अन्नबालीसँगै मानवीय क्षति बढी हुने गरेको छ ।
जैविक मार्ग घोषणा हुनु भन्दाअघि यहाँ मनग्गे अन्नबाली उत्पादन हुने गरेको मधुवन–३, भगरैयाका सुरेश योगीले बताए । ‘करिडोर घोषणा गरिएपछि वन्यजन्तु बढेका छन्, बाली लगायो भने वन्यजन्तुले सखाप पार्छन्,’ उनले भने, ‘रुख बिरुवा लगायो भने हुर्किन समय लाग्छ, त्यसैले विकल्पमा माछापालन गरेर आम्दानी गरिरहेको छु ।’
पहिले बाख्रा पालनका लागि सुरक्षित खोर थिएनन् । जसले गर्दा चितुवाले बाख्रा मार्ने गरेको मधुवन–३ की शर्मिला थारुले बताइन् । ‘मेरै तीन बंगुर र चारवटा बाख्रा चितुवाले मारेको थियो,’ उनले भनिन्, ‘अहिले सुरक्षित खोर निर्माण गरेपछि चितुवाले नोक्सान गर्न सकेको छैन ।’ बस्तीमा चितुवा आउन छाडेको छैन । बिहान उठेर घर वरिपरि हेर्दा चितुवाको पाइला देखिने गरेको स्थानीय खुसमानी थारुले बताइन् ।
वस्तुभाउ र मानवीय क्षति भोगे पनि स्थानीयले वन संरक्षण गर्न छाडेका छैनन् । मर्दापर्दा, भोजभतेर गर्दा वन जंगल आवश्यक पर्ने हुँदा संरक्षण गर्न जरुरी रहेको खाताका बासिन्दा कर्णबहादुर थारुले बताए । ‘खाता संरक्षित क्षेत्रमा वन्यजन्तु बढेका छन्,’ उनले भने, ‘वन्यजन्तुलाई बस्ती पस्न नदिन सरकारले नीति ल्याउन आवश्यक छ ।’ यस क्षेत्रमा पूरै तारबार नभएकाले वन्यजन्तुको डर रहेको उनले बताए ।
यस क्षेत्रका स्थानीयले संरक्षणमा टेवा पुर्याएका खाता वन्यजन्तु मार्ग विश्वमा चिनिएको छ । त्यसैले उपभोक्तालाई फाइदा हुने कार्यक्रम ल्याउन उनले माग गरे । स्थानीयको वनमा निर्भरता कम गरेर मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सरकार र गैरसरकारी संस्थाले स्थानीयको जीविकोपार्जनमा सघाउने उद्देश्यले वैकल्पिक कार्यक्रम लागू गरेका छन् । वैकल्पिक पेसा व्यवसाय सञ्चालन गरेर स्थानीयले आर्जन गर्न थालेका छन् । 
पहिला चुलो चौकामा सीमित मधुवन–३ खाताकी समिना चौधरी घरमै बसेर महिनाको २५ हजार कमाउँछिन् । १३ वर्षअघि सिलाइकटाइ सिकेको उनले बताइन् । ‘सिलाइकटाइ सिके पनि लगानी नहुँदा मेसिनलगायत सामानको अभाव थियो,’ उनले भनिन्, ‘खाता समन्वय समितिले एउटा मेसिन, इन्टरलक र आइरन लगायत सामान दिएपछि सहज भइरहेको छ ।’ उनी थारु समुदायका महिलाले लगाउने एक जोडी लेहङगा र चोलिया सिलाउँदा ८ हजार ज्याल लिने गरेको बताउँछिन् । एक जोडा लेहङ्गा र चोलिया सिलाउन पाँच दिन लाग्ने गरेको उनले बताइन् ।
खाता जैविक मार्ग हुँदै ओहोरदोहोर गर्ने हात्तीले यस क्षेत्रका घर भत्काउने गरेकाले तराई भू–परिधि तथा संरक्षण कार्यक्रम कोहलपुरको आर्थिक सहयोगमा तीन वर्षदेखि लघु घर बिमा कार्यक्रम सञ्चालनमा रहेको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए । ‘मधुवन–१ देखि ५ नम्बर वडा, राजापुर नगरपालिका–१० र ठाकुरबाबाका केही वडाका ४ हजार ६ सय ८४ घरधुरीको बिमा गरिएको छ,’ उनले भने, ‘आर्थिक वर्ष ०७९/०८० देखि हालसम्म जंगली हात्ती र दैवीप्रकोपबाट क्षति भएका ३० घरधुरीलाई ७ लाख ९४ हजार ८४ बराबर क्षति राहत उपलब्ध गराइसकेका छौं ।’ लघु घर बिमा प्रतिघरधुरीको ९५ रुपैयाँ लाग्छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमबाट अहिलेसम्म १३ लाख ३४ हजार ९ सय ४० सहयोग भइसकेको अध्यक्ष गुरुङले जनाए ।
खाता सामुदायिक वन समन्वय समिति अन्तर्गत ३६ सामुदायिक वन र ३ वटा धार्मिक वन रहेको उपाध्यक्ष भदै थारुले बताए । ‘बेरोजगार युवालाई स्वरोजगार बनाएर जीवनस्तर उकास्न समन्वय समितिमार्फत चिप्स, मिठाइ बनाउने, प्लम्बिङ, टायल लगाउने, कपाल काट्ने, ड्राइभिङ, साइकल मर्मतजस्ता सीपमूलक तालिम संचालन गरिसकेका छौं,’ उनले भने, ‘यस्तै वन्यजन्तुले अन्नबाली नोक्सान गरी आजित भइसकेका किसानलाई वैकल्पिक खेतीका लागि माछा पालन, बेसार, मेन्था खेतीमा सहयोग गरेका छौं ।’
मेन्था र बेसारको बजारीकरणमा समस्या भएकाले किसानहरूले खासै चासो देखाएका छैनन् । विद्यालय र समुदायमा वन्यजन्तुको आनीबानीका बारे जानकारी गराउँदै आएको उनले जनाए । सुधारिएको सुरक्षित खोर निर्माणपश्चात् चितुवाले बाख्रा र बंगुर मार्ने रोकिएको मधुवन नगरपालिका–४ का वडाध्यक्ष बलिराम चौधरीले बताए ।
