वन र वन्यजन्तुको संरक्षण गर्नु मानवको कर्तव्य हो : नगर प्रमुख भाट

मधुवन नगरपालिका तथा तराई भू–परिधि तथा संरक्षण कार्यक्रम बाँकेको आर्थिक सहयोग, डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय तथा सहकार्य कार्यक्रम सम्पन्न भएको हो ।

पुस १२, २०८२

रामप्रसाद चौहान 

It is the duty of humans to protect forests and wildlife: Mayor Bhat

What you should know

बर्दिया — वनजंगल र वन्यजन्तुको संरक्षण गर्नु मानवको कर्तव्य रहेको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले बताएका छन् । 

मधुवन नगरपालिका तथा तराई भू–परिधि तथा संरक्षण कार्यक्रम बाँकेको आर्थिक सहयोग, डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय तथा सहकार्य र खाता सामुदायिक वन समन्वय समितिद्वारा शनिबार मधुवन नगरपालिका–१ डल्लामा आयोजित जनतिनिधिसँग संरक्षण संवाद कार्यक्रममा नगर प्रमुखले यस्तो बताएका हुन् ।

वन, वन्यजन्तुको संरक्षण गर्न र वन्यजन्तुबाट आफू बच्न मानवको जिम्मेवारी रहेको नगर प्रमुख भाटले बताए । ‘वन्यजन्तुले आफ्नो व्यवहार परिवर्तन गर्न सक्दैन तर मानवले आफ्नो व्यवहार परिवर्तन गरेर केही हदसम्म द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ,’ नगर प्रमुख भाटले भने, ‘मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न हामीले संरक्षणकर्मीलाई मात्र गाली गरेर हुँदैन, अब जनप्रतिनिधि, संरक्षणकर्मी, संरक्षणसँग सम्बन्धित संघसंस्था र तीनवटै तहको सरकार मिलेर काम गर्न आवश्यक छ ।’

प्रकृतिमा रहेका सबै प्राणीको अस्तित्व स्वीकार गर्नु मानवको दायित्व भएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । ‘प्रकृतिको संरक्षण गरिरहँदा सकारात्मक पक्षसँगै नकारात्मक पक्षबाट जिल्लावासी पीडित भइरहेको अवस्था छ,’ उनले भने, ‘प्रकृतिमा बस्ने वन्यजन्तलाई संरक्षण गर्दै आगामी दिनमा मानवलाई कसरी संरक्षण गर्न सकिन्छ, यस छलफलले सहजता हुनेछ ।’

मधुवनका केही वडाका सर्वसाधारणलाई वन्यजन्तुको व्यवहार, वन्यजन्तुबाट जोगिन के गर्नुपर्छ र राहत भनेको के हो, जस्ता सामान्य जानकारी नभएको भेटिँदा पालिका र साँझेदार निकायसँग समन्वय गरी यस कार्यक्रमको आयोजना गरिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए । 

उक्त संवाद कार्यक्रममा वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन तथा राहत वितरणसम्बन्धी डिभिजन वन कार्यालयका प्रमुज विजयराज सुवेदीले प्रस्तुतीकरण दिएका थिए । मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न हात्तीको व्यवहारको पारिस्थितिकी सम्बन्धमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले गरेका थिए । यस्तै मानव वन्यजन्तु सह अस्तित्वमा सुरक्षा र विमाको भूमिकासम्बन्धी उज्यालो नेपालका तर्फबाट रमेश थापाले प्रस्तुतीकरण दिएका थिए ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully