बर्दियामा चितुवाको आक्रमण बढ्दो, पाँच वर्षमा ८ जनाको मृत्यु

जिल्लामा पाँच वर्षयता वनको कार्यक्षेत्रमा चितुवाको आक्रमणबाट ८ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।

आश्विन ३१, २०८२

रामप्रसाद चौहान 

Leopard attacks on the rise in Bardiya, 8 people killed in five years

What you should know

बर्दिया — गत मंगलबार दिउँसो बारबर्दिया नगरपालिका–११ का ४६ वर्षीय भादु थारु चितुवाको आक्रमणबाट घाइते भए । आफ्नै खेतमा धान काटिरहेका बेला चितुवाको आक्रमणमा पर्दा उनको टाउकोमा चोट लागेको हो ।

गएकाे शनिबार खेतमा धान काटिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा गुलरिया नगरपालिका–१० रत्नापुरकी ४० वर्षीया किरण लोध घाइते भएकी थिइन् । गत शुक्रबार दिउँसो खतेमै धान काटिरहेको अवस्थामा चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० डफैयाकी ४५ वर्षीया जुना चौधरी घाइते भएकी थिइन् । 

गुलरिया वरिपरि लामो समयदेखि चितुवाले निरन्तर मानव र पशुचौपायालाई सिकार बनाइरहेको छ । चालु आर्थिक वर्षको साउन र भदौमा चितुवाको आक्रमणबाट गुलरियाको दुई महिलाको ज्यान गइसकेको छ । यस्तै गत वर्ष गुलरियाका दुई बालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाएका थिए ।

अघिल्लो साता साँझ ७ बजे आँगनमा बसेको कुकुरलाई चितुवाले लतारेर उखुबारीमा लगेको गुलरिया नगरपालिका–८ सर्जुनदी टपराकी अन्नु विकले बताइन् । ‘बस्तीमा चितुवा पल्केको छ,’ उनले भनिन्, ‘साना बालबालिकालाई जोगाउन मुस्किल भइसक्यो ।’

चितुवाको त्रासले धान भित्र्याउने बेला खेतमा काम गर्नसमेत सर्वसाधारण डराइरहेका छन् । ‘चितुवा बस्तीमा पसेर निरन्तर आक्रमण गरिरहेको छ, चितुवा नियन्त्रणको लागि कसैले चासो देखाएको पाइँदैन,’ एक स्थानीयले भने, ‘चितुवाको आक्रमण रोक्न डिभिजन वनले के काम गरिरहेको विषयमा बुझ्न वनमा जाँदा कार्यालयका प्रमुख विजयराज सुवेदी भेटिँदैनन् र फोन सम्पर्क गर्दा कार्यालय प्रमुखले बोक्ने फोन लामो समयदेखि सुरक्षा टिमलाई बुझाएर जवाफ दिनबाट पन्छिएका छन् ।’ 

जिल्लामा पाँच वर्षयता वनको कार्यक्षेत्रमा चितुवाको आक्रमणबाट मात्र ८ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७८/०७९ मा चितुवाको आक्रमणबाट २ जनाको मृत्यु र २ जना घाइते, आर्थिक वर्ष ०८१/०८२ मा ४ जनाको मृत्यु, १३ घाइते र चालु आर्थिक वर्ष ०८२/०८३ मा २ महिलाको मृत्यु र ४ जना घाइते भइसकेको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले जनाए ।

सजिलो आहाराको खोजीमा चितुवा बस्तीमा पस्न थालेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बताए । ‘चितुवाले बढी आक्रमण गरेको वन क्षेत्रमा आहाराको कमीले बस्तीमा पल्केको देखिन्छ,’ उनले भने, ‘खेतमा घोप्टो परेर काम गरिरहेको अवस्थामा आहारा प्रजाति सम्झेर चितुवाले मानवलाई आक्रमण गरिरहेको देखिन्छ ।’ बढी आत्रमण भइरहेको क्षेत्रमा जनचेतना फैलाउनुपर्ने आवश्यकता देखिएको उनले बताए ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully