नगरपालिकामा भएको आगजनी तथा तोडफोडमा तीन वटा शाखाबाहेक अन्य सबै शाखाका कम्प्युटर, ल्यापटप, प्रिन्टरलागयतका सामान तोडफोड भएको प्रशासन शाखाका प्रमुख कपिल घिमिरेले बताए ।
What you should know
बर्दिया — गुलरिया नगरपालिकामा भएको तोडफोड र आगजनीबाट १ करोड ३२ लाख बराबरको क्षति जनाइएको छ । गत मंगलबार राति ८ बजे गुलरिया नगरपालिकामा तोडफोड तथा आगजनीबाट उक्त क्षति भएको जनाइएको हो ।
तोडफोड तथा आगजनीले संरचनामा क्षति पुगेपछि नगरपालिकाले दिने सेवा ठप्प भएको थियो । नगरपालिकाका विभिन्न शाखाका कम्प्युटर, प्रिन्टर, कागजपत्र, टेबल कुर्सी तोडफोड हुँदा सेवा सञ्चालन हुने स्थिति थिएन । नगरपालिका सरसफाइ मर्मत सम्भारपश्चात गत शुक्रबार अत्यावश्यक सेवा प्रवाह सुरु भएको थियो । नगरपालिकामा सेवाग्राहीको चहलपहल देखिन थालेको छ ।
यस्तै, तोडफोडमा संलग्न व्यक्तिहरूले फोहोर उठाउने ट्र्याक्टरको ब्याट्री लुटपाट गरेपछि फोहोर उठाउन समस्या भइरहेको जनाइएको छ ।
नगरपालिकामा भएको आगजनी र तोडफोडले रु १ करोड ३२ लाख बराबरको क्षति भएको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताए । ‘गत शुक्रबारदेखि अत्यावश्यक काम सुरु भइसकेको थियो,’ प्रमुख प्रशासकीय अधिकृत शाहले भने, ‘सेवा प्रवाह बिस्तारै पुरानो लयमा फर्किँदै गएको छ ।’
गुलरिया नगरपालिकामा भएको आगजनी तथा तोडफोडमा तीन वटा शाखाबाहेक अन्य सबै शाखाका कम्प्युटर, ल्यापटप, प्रिन्टरलागयतका सामान तोडफोड भएको प्रशासन शाखाका प्रमुख कपिल घिमिरेले बताए । ‘यस्तै कार्यालय भवनको झ्याल ढोकाको सिसा फुटेका छन् भने ११ वटा मोटरसाइकल पूर्णरूपमा जलेको छ भने तीन वटा मोटरसाइकलमा तोडफोड भएको छ,’ उनले भने ।
यस्तै, त्यही दिन प्रदर्शनकारीले पूर्वमन्त्री सञ्जयकुमार गौतमको घर, नेपाली कांग्रेस र एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए भने जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गणेशमान चोकमा रहेको सालिकसमेत तोडफोड गरेका थिए ।
सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
