गुलरियाका १५ वर्षीय बालक भारतमा २२ दिनदेखि बेपत्ता

आमा र गाउँलेसँग मनौना धाम दर्शनका लागि गएका बालक धाम दर्शनका लागि लाइन बसेका बेला हराएका थिए ।

भाद्र १९, २०८२

रामप्रसाद चौहान 

A 15-year-old boy from Gulria has been missing for 22 days in India

बर्दिया — भारतमा २२ दिनदेखि बेपत्ता गुलरियाका एक बालकको अवस्था अझै अज्ञात छ । गुलरिया नगरपालिका–१० कालाबन्जार १५ वर्षीय सनोज यादव बहराइच बरेलीस्थित मनौना धामबाट बेपत्ता भएका हुन् । उनको खोजीका लागि परिवारले आग्रह गरेका छन् ।

गत साउन २९ गते उनी आमा सरिता यादवलगायत गाउँका व्यक्तिहरुसँग मनौना धाम दर्शनका लागि गएका थिए । साउन ३० गते धामदर्शनका लागि लाइन बसेका बेला उनी हराएको आमा सरिताले बताइन् । बेपत्ता बालकका बुवा वैदेशिक रोजगारमा रहेको परिवारिक स्रोतले जनाएको छ ।

गत आइतबार गुलरिया नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मी नारायण लोध, सञ्चारकर्मी कृष्णप्रसाद भुसालसहित ६ जनाको टोली बालक खोज्न मनौना धाम गएको थियो ।‘हामीले मनौना धाम वरपर बुझ्यौं । तर बालक फेला नपरेको स्थानीय प्रशासनले जवाफ दिएको छ,’ सञ्चारकर्मी भुसालले भने, ‘बालक अन्य कुनै गाडीमा चढेर अन्य ठाउँमा गएको हुन सक्ने स्थानीय प्रशासनले आशंका गरेको छ ।’ 

बालक बेपत्ता भएको जानकारी पाएपछि काउन्टर पार्टसँग खोजतलासका लागि निरन्तर समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully