बबई नदीमा फसेका दुई जनालाई सशस्त्र प्रहरीले गर्‍यो उद्धार

गुलरिया नगरपालिका बालापुरका ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देविप्रसाद थारुलाई सशस्त्र प्रहरी बलले सुरक्षित निकाले।

श्रावण २०, २०८२

रामप्रसाद चौहान 

The armed police rescued two people who were trapped in the Babai river

बर्दिया — बबई नदीमा फसेका दुई जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । गुलरिया नगरपालिका–५ बालापुरस्थित बबई नदीमा फसेका दुई जनालाई मंगलबार साँझ साढे ४ बजेतिर सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

गुलरिया नगरपालिका–५ बालापुरका ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देविप्रसाद थारुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गणका गणपति मानबहादुर शाहीले बताए । गाईभैंसी चराउन गएका उनीहरू बबई नदीमा फसेको खबर पाउनासाथ उद्धारका लागि १० जनाको सशस्त्र प्रहरी टोली खटिएको गणपति शाहीले जनाए ।

बबई नदीको चेपाङ जलमापन केन्द्रले मंगलबार बिहानै खतरा तह पार गरेको संकेत देखाएको थियो भने दिउँसोबाट क्रमशः घट्दो देखिए पनि निरन्तर वर्षा भइरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई प्रशासनले सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

बाढीको समयमा नदी किनारमा काठ–दाउरा छोप्न, माछा मार्न नजान, डुबान हुने क्षेत्रका बासिन्दा सुरक्षित रहन, घरमा भएका महत्त्वपूर्ण वस्तु, नगद र गरगहना, जिन्सी सामान सुरक्षित ठाउँमा राख्न, अत्यावश्यक खाद्यान्न सुरक्षित राख्न तथा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरीलाई विशेष ध्यान दिन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully