बर्दिया — यहाँका दुई पालिकाका ५३ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएका छन् । गुलरिया र बाँसगढी नगरपालिकाका भूमिहीन सुकुम्बासीले बुधबार पुर्जा पाएका हुन् ।
गुलरिया र बाँसगढी नगरपालिकाको समन्वय र सहकार्यमा भूमि समस्या समाधान आयोग जिल्ला समिति बर्दियाले जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको हो ।
लामो समयको पर्खाइपछि जोतभोग गर्दै आएको जग्गाको प्रमाण पुर्जा प्राप्त गर्दा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको अनुहारमा चमक झल्किएको थियो ।
गुलरिया नगरपालिकाका ४० जना र बाँसगढी नगरपालिका १३ जनालाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको हो । गुलरियाका ४० जनालाई ७ हजार ७ सय २७ दशमलव ९८ वर्गमिटर र बाँसगढीका १३ जनालाई १३ हजार ४ सय २७ दशमलव २३ वर्गमिटर जग्गाको प्रमाण पुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समितिले जनाएको छ । जोतभोगको आधारमा एक परिवारलाई १२ धुरदेखि डेढ कट्ठासम्म जग्गाको प्रमाण पुर्जा दिइएको छ ।
वि.सं. २०४६ देखि भोगचलन गर्दै आएको जग्गाको प्रमाण पुर्जा पाउँदा बाँसगढी नगरपालिका–४ का ७२ वर्षीय भीमबहादुर सुनारले खुसी साटे । ‘३६ वर्षको पर्खाइपछि बल्ल जग्गाधनी बनियो,’ उनले भने, ‘लामो समय कुरेर जग्गाको मालिक बन्न पाउँदा धेरै खुसी लागेको छ ।’
त्यसैगरी हातमा जग्गाको प्रमाण पुर्जा समाएर यताउता घुमिरहेका गुलरिया नगरपालिका–४ कैलाश नगरका विष्णु गोडिया खुसीले फुरुक्कै थिए । ‘वि.सं. २०२१ देखि भोगचलन गर्दै आएको जग्गाको प्रमाण पुर्जा हातमा परेको छ,’ उनले भने, ‘लामो संघर्षपछि पुर्जा पाएर बासको ठेगान पक्का हुँदा तनावमुक्त भएको छु ।’
‘गुलरियामा सुकुम्बासीका लागि जग्गा नाप जाँचको काम तीव्र गतिमा भइरहेको थियो,’ गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले भने, ‘तर, गुलरिया–२ स्थित संगम बस्तीमा भइरहेको काम डिभिजन वन कार्यालयले रोकेको छ ।’ वन क्षेत्र नभएको ठाउँमा वनले हस्तक्षेप गरेको नगर प्रमुखले आरोप लगाए । यो समस्याको तत्काल समाधानका लागि संसदमा आवाज उठाउन नगर प्रमुख यादवले संघीय सांसद तथा पूर्वमन्त्री संजयकुमार गौतमसँग आग्रहसमेत गरे ।
भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूको समस्या समाधानका लागि सबै जना मिलेर काम गर्नुपर्ने संघीय सांसद तथा पूर्वमन्त्री गौतमले बताए । ‘वास्तविक भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले जग्गा प्राप्त गर्नुपर्छ,’ उनले भने, ‘भूमिहीनका नाममा अरू नै व्यक्तिले फाइदा लिन खोज्छन् भने त्यसतर्फ आयोगका साथीहरू चनाखो हुन जरुरी छ ।’
यही आर्थिक वर्षमा केही उपलब्धि निकाल्न गरेको अठोट अनुसार सुकुम्बासीलाई आज जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न पाउँदा धेरै खुसी भएको भूमि समस्या समाधान आयोग बर्दियाका अध्यक्ष अरूणप्रकाश सिंह राठोरले बताए । ‘यस कार्यमा सघाउने सबैलाई धन्यवाद छ,’ उनले भने, ‘भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनीको प्रमाण पुर्जा वितरणको गति रोकिने छैन ।’
भूमि समस्या समाधान आयोग समिति बर्दियाका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ४५ हजार बढीले जग्गा दर्ता प्रमाण पुर्जा प्राप्तीका लागि निवेदन दिएका छन् ।
