ठाकुरबाबाको असारे विकास : मध्यरातमा बन्यो कमसल कालोपत्रे

असार २५, २०८२

रामप्रसाद चौहान 

Thakur Baba's Asare Vikas: In the middle of the night, Kamasal Kalopatra was formed

बर्दिया — ठाकुरबाबा नगरपालिकाको असारे विकासले यतिबेला चर्चा पाइरहेको छ। ठाकुरबाबा नगरपालिका–९ बानुगाउँस्थित मध्यरातमा बनाइएको कमसल कालोपत्रेले चर्चा पाएको छ। कालोपत्रेको नाममा रोलरले नदबाएर गिट्टी मात्र बिछ्याइएको पाइएको छ।

नगरपालिकाको बजेटमा निर्माणधीन ठाकुरद्वारादेखि हात्तीसार जाने बाटोमा शनिबार मध्यरातमा कमसल खालको कालोपत्रे गरेको पाइएको हो । रोयल लक्ष्मी ओम नमो जेभी कम्पनी दाङले रातारात कमसल खालको कालोपत्रे गरेको छ।

जनताको आँखामा छारो हालेर नामको मात्र कालोपत्रे गरेको स्थानीयहरुको आरोप छ। उक्त कमसल कालोपत्रेको चर्को विरोध भइरहेको छ । ‘रोलर नलगाए जस्तै तारकुल र गिट्टी अलग अलग बिछ्याइएको छ,’ एक स्थानीयले भने, ‘सजिलै गिट्टी हातले सोर्न सकिन्छ, असारको अन्तिममा भुक्तानी लिने उद्देश्यले निर्माण कम्पनीले रातारात कमसल काम गरेको छ, यस्तो कामको अनुगमन मुल्यांकन नगरि पालिकाले भुक्तानी दिए हामी बिरोधमा उत्रिन बाध्य हुन्छौँ ।’

कालोपत्रे गर्न निर्माण व्यवसायीको ठुलो लापरबाही देखिँदासमेत सम्बन्धित निकाय मौन हुनु शंकास्पद रहेको स्थानीय रामु चौधरीले बताए। ‘चहल पहल बन्द भएपछि निर्माण व्यवसायीले मध्यरातमा कमसल कालोपत्रे गरेको गरेको छ,’ उनले भने, ‘उक्त कालोपत्रेको लागि बाँकेको कोहलपुर करिब ६० किलोमिटर देखि सेलाएको तयारी सामाग्री ल्याइएर खन्याइएको छ ।’ 

कालोपत्रे हुने दिन सो ठाउँमा पुगेर र त्यस्तो सामाग्री नप्रयोग गर्न निर्माण व्यवसायीलाई भनेको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना कुमारी भट्टराईले बताइन्। ‘साँझ ५ बजे नै बाँकेबाट ६-७ वटा कन्टेनरमा तयारी मेटेरियल ल्याएर राखिएको थियो,’ उनले भनिन्, ‘त्यति टाढाबाट कालोपत्रेको लागि तताएर ल्याएको सामाग्री ल्याउँदा ल्याउँदै बाटोमै चिसो भइसकेको होला। यस्तो सामाग्री नहाल्न आग्रह गरेर घर फर्किएँ, निर्माण व्यवसायीले अटेर गरी राति त्यही चिसो सामाग्री प्रयोग गरेको भेटियो।’

गुणस्तरहीन कालोपत्रे भएको रोयल लक्ष्मी ओम नमो जेभीका संचालक पुर्ण भण्डारीले पनि स्वीकार गरे। ‘बर्खाको समयमा हतार हतार काम गर्दा मिस्टेक भएको छ,’ उनले भने, ‘हामी सुधार गर्छौँ।' निर्माण कम्पनीका संचालक भण्डारीका अनुसार २ हजार १ सय मिटर कालोपत्रेको लागि भ्याटबाहेक २ करोड ११ लाखको ठेक्का हो। जसमध्ये यस अघि १ हजार ४ सय मिटर कालोपत्रे भइसकेको छ। पछिल्लो पटक रातारात ७ सय मिटरमा कालोपत्र गरिएको थियो।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully