सर्जु नदीको बहाव रोकिने गरी थुपारिएको माटो हटाउन सुरु

असार १८, २०८२

रामप्रसाद चौहान 

The removal of the accumulated mud that stopped the flow of Sarju river began

बर्दिया — ‘सर्जु नदी पुरेर नहर बनाइँदै,टपरा बस्ती डुबानको उच्च जोखिममा’ भन्ने शीर्षकमा कान्तिपुरमा मंगलबार समाचार प्रकाशित भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ । नदीको बहाव रोकिने गरी पुरिएको माटो बुधबार बिहानदेखि हटाउन सुरु गरिएको हो । 

गुलरिया नगरपालिका-७ स्थित बबई सिँचाइ आयोजनाले बर्खामा नदी पुरेर नहर निर्माणको कार्य सुरु गरेको थियो । बर्खाका बेला नदी पुरेर नहरको लागि ८४ मिटर तटबन्ध (रिटेनिङ वाल) बनाइँदै छ ।

रिटेनिङ वाल निर्माण श्चात तत्कालै नहर निर्माणको काम सुरु गर्ने आयोजनाको तयारी छ । रिटेनिङ वाल बनाउँदा नदी–किनारबाट खनेर निकालिएको माटोले सर्जु नदी पुरिएको थियो । माटोले नदी पुर्दा बर्खाको समयमा बग्ने पानीले पनि निकास नपाउने अवस्था देखिएको थियो । प्राकृतिक नदी मिचेर बबई सिँचाइ आयोजनाले निर्माण गरिरहेको नहर प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

गुलरिया नगरपालिका–७ स्थित सर्जु नदीको किनारबाट नहर निर्माण गर्न रिटेनिङ वाल निर्माणको काम भइरहेको बबई सिंचाइ आयोजनाका निर्देशक सुशीलचन्द्र देवकोटाले बताए । ‘रिटेनिङ वाल निर्माणको लागि खनिएको माटोले नदी पुरिएको थाहा पाएपछि ध्यानाकर्षण भएको छ,’उनले भने,‘रिटेनिङ वालको काम गरिरहेको भैरव कन्स्ट्रक्सन निर्माण कम्पनीका सम्बन्धित व्यक्तिलाई तत्काल नदी छेकेको माटो हटाउन निर्देशन दिएको छु ।’

जिल्लामा यस वर्ष नदीतटीय बस्तीका ८३ हजार बढी जनसंख्या बाढीबाट प्रभावित हुन सक्ने जिल्ला विपद् व्यवस्थापन समितिले आकलन गरे पनि बाढी बस्ती पस्ने गरी नदी पुरेर पानीको बहाव छेक्ने काम हुँदा पनि स्थानीय प्रशासनले कुनै चासो नदेखाउनु दुःखद रहेको स्थानीयहले प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी बर्खाको समयमा टपरा बस्ती र गुलरिया बजार जोड्ने सर्जु नदीमा रहेका बाँस र फलामका पुलको छेउसम्मै खनेर हिलाम्मे बनाउँदा साना बालबालिका विद्यालय जानसमेत गाह्रो भइहेको स्थानीयको गुनासो छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully