सर्जु नदी पुरेर नहर बनाइँदै, टपरा बस्ती डुबानको उच्च जोखिममा

असार १७, २०८२

रामप्रसाद चौहान 

Tapra settlement at high risk of inundation due to construction of canal across Sarju river

बर्दिया — बबई सिँचाइ आयोजनाले बर्खाको समयमा प्राकृतिक नदी पुरेर नहर निर्माणको कार्य सुरु गरेको छ । आयोजनाले गुलरिया नगरपालिका–७ स्थित सर्जु नदी पुरेर नहर बनाउन सुरु गरेको हो । बर्खाका बेला नदी पुरेर तटबन्ध (रिटेनिङ वाल) बनाउन थालिएको छ । 

रिटेनिङ वाल निर्माणपश्चात तत्कालै नहर निर्माणको काम गर्ने आयोजनाको तयारी छ । रिटेनिङ वाल बनाउँदा नदी-किनारबाट खनेर निकालिएको माटोले सर्जु नदी पुरिएको छ । माटोले नदी पुर्दा बर्खाको समयमा बग्ने पानीले पनि निकास नपाउने अवस्था छ । 

नदीमा पानी बग्ने ठाउँ नभएपछि ठूलो पानी पर्दा पारिपट्टि गुलरिया नगरपालिका–८ टपरा सुकुम्बासी र नयाँ बस्ती डुबानमा पर्ने उच्च जोखिम देखिएको छ ।  २०७१ को बाढीले गुलरिया–८ स्थित टपरा बस्ती डुबानमा परेको थियो ।

एक्कासि बाढी पसेर भाग्ने ठाउँसमेत नहुँदा टपराका बासिन्दालाई सेनाको हेलिकप्टर र डुंगामार्फत सुरक्षाकर्मीले उद्धार गरेका थिए । उक्त बाढीमा बस्तीका घर र सामान बगेको थियो । २०७४ मा गुलरिया–२ संगम बस्तीस्थित बबई नदीको बाँध भत्किएर सर्जु नदीमा आएको बाढीले टपरा बस्ती दोस्रो पटक पूर्ण रूपमा डुबानमा परेको थियो 

Tapra settlement at high risk of inundation due to construction of canal across Sarju riverजिल्लामा यस वर्ष नदीतटीय बस्तीका ८३ हजार बढी जनसंख्या बाढीबाट प्रभावित हुन सक्ने जिल्ला विपद् व्यवस्थापन समितिको आकलन छ । बबई सिँचाइ आयोजनाले प्राकृतिक नदी अतिक्रमण गरी धमाधम नहर निर्माण गरिरहेको गुलरियाका एक जनप्रतिनिधिले बताए । ‘कुनै व्यक्तिको जग्गाबाट नहर लगेबापत आयोजनाले जग्गाको मूल्य तिर्नुपर्छ,’ उनले भने,‘मुआब्जा नतिर्न नदी मिचेर छेउछेउबाट लग्न खोजिएको देखिन्छ ।’

बर्खामा छेउको माटो खनेर नदी पुर्दा पानी छेकिने र पारिपट्टिको टपरालगायत गुलरिया गाउँ, चौगुर्जी डुबान हुने जोखिम रहेको स्थानीय उर्मिला गुप्ताले बताइन् । ‘बर्खाको समयमा जुनसुकै बेला भारी वर्षा हुने सम्भावना छ, सर्जु नदी बग्ने बाटोमा माटो थुपारिएको छ,’ उनले भनिन्,‘विगतमा दुई पटक बाढीले तहसनहस बनाएको बस्तीमा यस वर्ष पनि बाढीको त्रास छाएको छ ।’ बर्खा लागेपछि नहर निर्माणको काम सुरु गरी नदीमा माटो पाटेर वरिपरिका बस्ती डुबाउन खोजिएको स्थानीय रमेश यादवको आरोप छ । 

गुलरिया नगरपालिका–७ स्थित सर्जु नदीको किनारबाट नहर निर्माण गर्न रिटेनिङ वाल निर्माणको काम भइरहेको बबई सिँचाइ आयोजनाका निर्देशक सुशीलचन्द्र देवकोटाले बताए । ‘अहिले ८४ मिटरमा रिटेनिङ वाल निर्माण भइरहेको छ,’ उनले भने,‘नदीमा पाटिएको माटो नहटाउँदा पानी छेकिने र माटो पनि बगेर जान्छ, म फिल्डमा गएर तत्काल नदीमा थुपारिएको माटो हटाउन लगाउँछु ।’

निर्देशक देवकोटाका अनुसार रिटनिङ वाल, तारजालीसहित तटबन्ध र साढे ९ किलोमिटर मूल र अन्य सहायक नहर निर्माणका लागि १ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का लगाइएको छ । 

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully