बर्दिया — प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै स्थानीयलाई हैरानी दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ठाकुरबाबा नगरपालिका–९ का १९ वर्षीय अर्जुन रोकायलाई प्रहरीले पक्राउ गरेको हो । रोकायले होटल तथा पसलमा 'म प्रहरी सहायक निरीक्षक हुँ' भन्दै उधारो मागेर व्यवसायीहरुलाई हैरानी दिइरहेको सूचनाको आधारमा तत्काल प्रहरी टोली खटिएको थियो ।
प्रहरीले रोकायलाई नियन्त्रणमा लिइ सोधखोज गर्दा प्रहरी संगठनमा आबद्ध नरहेको खुलेको छ । रोकायले झुठ्ठा तथा काल्पनिक पद सिर्जना गरी स्थानीयलाई दुःख दिने गरेको बुझिएको छ ।
स्थानीयलाई दुःख दिएको आधारमा रोकायलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।
