बर्दिया — कसगढ समुदायका व्यक्तिहरू बिहान उठ्ने बित्तिकै माटोसँग खेल्न व्यस्त हुन्छन्। परिवारका सदस्यहरू कोही खाली भेटिँदैनन्। कसैले विद्युतीय चक्रको सहायताले माटोको सामाग्री बनाउन व्यस्त हुन्छन् त कोही बनाएको सामाग्री सुकाउन मिलाउन, पकाउन, माटो मुछ्न र कोही तयार भएको माटोको सामाग्री बेच्नेलगायतको कर्ममा प्राय व्यस्त देखिन्छन् । कसगढ समुदायको यो दैनिकी हो ।
गुलरिया नगरपालिका वडा नम्बर ७ र ८ भन्सार रोडस्थित करिब एक दर्जन संख्यामा कसगढ समुदायको बसोबास गर्छन्। पुर्ख्यौली पेसा अंगालेको यो समुदायको पेसा पछिल्लो समयमा धरापमा पर्दै गएको छ। केही वर्ष यता माटोको भाँडावर्तनको प्रयोग घट्न थालेपछि कसगढ समुदाय चिन्तित बन्दै गएको छ।
पुर्ख्यौली पेसामा मेहनत बढी आम्दानी कम भएपछि परिवार पाल्न मुस्किल भइरहेको कसगढ समुदायको भनाइ छ । पुर्ख्यौली पेसा अंगालेर खर्च धान्न मुस्किल भएपछि यस समुदायका व्यक्तिहरू अन्य पेसा अपनाउन बाध्य भइरहेका छन् । साँझ बिहान पुर्ख्यौली पेसाको कर्ममा व्यस्त भए पनि दिउँसोमा अटो रिक्सा चलाउने र इट्टा भट्टामा गएर मजदुरी गर्न बाध्य छन् ।
कसगढ समुदायले बिक्रीको लागि तयारी सामाग्री घर अगाडि राख्छन् । कसगढ समुदायले माटोको कलश, लाखबत्ति, दियो, पैसा जम्मा गर्ने भड्की, बच्चाहरूको खेलौनालगायतको सामाग्री बनाउँदै आएका छन् । पछिल्लो समयमा प्लास्टिक, काँच, स्टिल र फाइबरका भाँडा बर्तन चलेपछि माटोको सामाग्री लिन आउनेको संख्या विस्तारै घट्दै गएको गुलरिया नगरपालिका–८ की सहिदुन निसा कसगढले बताइन्।
‘पहिलाको जस्तो व्यापार छैन,’ उनले भनिन्, ‘अन्य व्यापार गर्न लगानी चाहिन्छ, त्यो हामीसँग छैन ।’ बिक्री गर्न तयारी रहेको माटोको सामाग्री देखाउँदै उनले भनिन्,‘हेर्नुस् न सब त्यस्तै थुपारिएको छ । लिने मान्छेहरू धेरै आउँदैनन् । व्यापार भए नभए पनि चित्त बुझाउनुपर्छ ।’
आनो खेतबारी नहुँदा माटोको सधैँ उल्झिन् हुने गरेको गुलरिया नगरपालिका–७ का ४० वर्षीय नानबाबु कसगढले बताए । ‘पुर्ख्यौली पेसा छोड्न पनि सकिदैन,’ उनले भने,‘नछोडे दैनिकी चलाउन मुस्किल छ ।’ मुख अँध्यारो बनाउँदै उनले भने,‘महँगीले आकाश छोएको छ । ७ हजार रुपैयाँमा एक ट्रली माटो, ७ सय प्रति क्विन्टल भुसी र एक भारीको तीन सयको तयारी सामाग्री पकाउन दाउरा किन्नुपर्छ । तयार भएको माटोको सामाग्री सस्तोमा बिक्छ । यस पेसामा मेहनत, लगानी बढी गर्नुपर्छ, आम्दानी भने कम हुन्छ । मेहनत र लगानी अनुसार नाफा नहुँदा जहान पाल्नै गाह्रो भइरहेको छ ।’
पुर्ख्यौली पेसा चौतर्फी संकटमा परेको गुलरिया नगरपालिका–८ का रज्जबली कसगढले बताए । ‘माटोको सामाग्रीको प्रयोग घट्दै गएको र बिक्री नभएको पिडा छदै छ,’ उनले भने, ‘यता सजिलै माटो पनि पाइँदैन।’ ‘पहिला स्थानीय सरकार नहुँदा जताबाट पनि माटो ल्याउन सकिन्थ्यो। तर आजभोलि त्यस्तो छैन । सरकारी जग्गाबाट माटो ल्याउन पाइँदैन । महँगो हालेर किनेको माटो राम्रो नपर्दा मेहनत र लगानी दुवै खेर जान्छ । एक ट्रलीमा ३० प्रतिशत माटो खराब हुन्छ । माटोमा मिसावट हुँदा बनाएको सामाग्री पकाउँदा फुट्ने गरेको छ,’ उनले भने ।
कसगढ समुदायका अनुसार जिल्ला स्थित दीपावलीको बेला माटोको दियो बढी बिक्छ भने विवाह, ब्रतबन्धनलगायत धार्मिक कार्यको लागि खोज्छन् । त्यसैगरि सुर्खेत, कैलाली र दाङलगायतका छिमेकी जिल्लाका पुजा सामाग्री डिलरले माटोको सामाग्रीको माग गर्छन् ।
