२१ किलो अफिमसहित दुई जना पक्राउ

वैशाख २२, २०८२

रामप्रसाद चौहान 

Two people arrested with 21 kg of opium

बर्दिया — बर्दिया प्रहरीले ठूलो परिमाणको अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–१ चेपाङस्थित रत्न राजमार्ग सडक खण्डबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-७ का ३७ वर्षीय भक्तबहादुर शाही र जिल्ला चितवन राप्ती नगरपालिका–११ आरपानीका २७ वर्षीय कुमार वाइबा छन् । 

आइतबार बेलुका शाहीले चलाएको लु ८० प १४६७ नम्बरको मोटरसाइकलमा पछाडि वाइबा सवार भई जाजरकोटदेखि नेपालगन्जतर्फ आउँदै गर्दा चेकिङका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वाइबाले भिरेको कालो झोलाभित्र २२ वटा पोका  लुकाइराखेको अवस्थामा २१ किलो ५ सय ६७ ग्राम  अफिम  फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई सोमबार अदालतबाट ५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मोतिपुरमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए । डीएसपी पालका अनुसार पक्राउ परेका दुवै जनालाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को उप–दफा १ को(६)(३)बमोजिम सजाय हुनेछ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully