बर्दिया — बर्दियाका नेता तथा कार्यकर्तालाई एकअर्काको खुट्टा तान्ने संस्कार परित्याग गर्न माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । राजापुरमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जिल्लाका सबै नेता-कार्यकर्तालाई स्वार्थकेन्द्रित गतिविधि बन्द गर्न उनले आग्रह गरे । आगामी निर्वाचनसम्म बर्दिया एकपटक जाग्नुपर्ने उनको भनाइ थियो । ‘समाजवादको तयारीका लागि एकचोटि फेरि हिजोको जनक्रान्तिको स्पिड पुनस्थापित गर्ने प्रयास गर्नुस्,’ उनले भने, ‘एकअर्काको खुट्टा तान्ने संस्कारलाई परित्याग गर्न संकल्प गर्नुस् ।’ थारु समुदाय क्रान्तिको बलियो किल्ला भए पनि छिन्नभिन्न भएकामा आत्मसमीक्षा उनले नेताहरुलाई आग्रह गरे ।
विगतमा आफूले पनि केही गल्ती गरेको महसुस भएरै नयाँ संकल्पसाथ देशमा शान्तिपूर्ण क्रान्तिको नेतृत्वका लागि अघि बढिररहेको उनको भनाइ थियो । 'हजारौं सहिदको सपना लथालिंग हुन सक्छ भन्ने बुझेर आफै बदलिन संकल्प गरेँ,' उनले भने, 'सुशासनको पक्षमा लडाइँ छेडिएको त्यत्तिकै होइन । अहिले म खुसी छु ।'
