धनकुटामा साना सिँचाइका ३० योजनाले ३ सय ९१ हेक्टरमा वर्षभरि पानीको सुविधा

धनकुटा नगरपालिकामा ८ करोड ८२ लाख लागतमा ३० सिँचाइ आयोजना निर्माण भई ९७९ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

श्रावण ९, २०८३

विनोद घिमिरे

In Dhankuta, 30 small irrigation projects provide year-round water facilities to 391 hectares

What you should know

धनकुटा — धनकुटा नगरपालिकामा सात वर्षदेखि सञ्चालन हुँदै आएको साना सिँचाइ कार्यक्रममार्फत ३ सय ९१ हेक्टर (७ हजार ८ सय २० रोपनी) खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा विस्तार भएको छ।

आर्थिक वर्ष २०७६/७७ देखि सञ्चालनमा आएको कार्यक्रममार्फत नगरपालिकाका विभिन्न वडामा ३० वटा साना सिँचाइ आयोजना निर्माण तथा स्तरोन्नति गरिएका हुन्। करिब ८ करोड ८२ लाख रुपैयाँको लागतमा सञ्चालन गरिएको कार्यक्रमबाट ९ सय ७९ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएको धनकुटा नगरपालिकाले जनाएको छ।

कार्यक्रमअन्तर्गत ४३ किलोमिटर सिँचाइ कुलो निर्माण तथा स्तरोन्नति गरिएको छ। यसले वर्षायाममा मात्रै खेती गर्न बाध्य किसानलाई बाह्रै महिना खेती गर्ने आधार तयार गरिदिएको नगरपालिकाले जनाएको छ ।
साना सिँचाइ कार्यक्रम संघीय सरकार, कोशी प्रदेश सरकार, धनकुटा नगरपालिका, स्वीस सरकार तथा स्थानीय उपभोक्ताको लागत साझेदारीमा सञ्चालन गरिएको थियो ।

साना तथा मझौला किसानलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउँदै कृषि उत्पादन बढाउने, खाद्य सुरक्षामा टेवा पुर्‍याउने र किसानको आयआर्जन वृद्धि गर्नु रहेको धनकुटा नगरपालिकाका प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख सीताराम गौतमले जानकारी दिए।

पर्याप्त सिँचाइ सुविधाको व्यवस्था नहुँदा  बर्षमा एक बालीभन्दा बढी उत्पादन गर्न कठिन हुने अवस्थाका  किसान लाई राहत पुगेको गौतमको भनाई छ । कतिपय खेतीयोग्य जमिन बाँझै रहने र उत्पादन लागत बढ्ने समस्या पनि किसानले भोग्दै आएका थिए। कार्यक्रममार्फत सिँचाइ पूर्वाधार निर्माण भएपछि ती समस्या क्रमशः समाधान हुँदै गएको नगरपालिकाको दाबी छ।

सिँचाइ सुविधा विस्तारसँगै किसानले वर्षभरि तरकारी, फलफूल, मकै, धान तथा अन्य नगदे बाली उत्पादन गर्न थालेका छन्। खेती प्रणालीमा विविधीकरण आउनुका साथै व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढेको छ। उत्पादन र उत्पादकत्वमा वृद्धि भएसँगै स्थानीय बजारमा ताजा कृषि उपजको उपलब्धता बढेको र किसानको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको जनाइएको छ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले साना सिँचाइ कार्यक्रमले नगरपालिकाको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनका अनुसार सिँचाइ सुविधा पुगेपछि खेतीयोग्य जमिनको उपयोग बढेको, उत्पादनमा वृद्धि भएको र किसानको आर्थिक अवस्थामा सुधार देखिन थालेको छ। उनले कार्यक्रम सम्पन्न भए पनि निर्माण भएका सिँचाइ संरचनाको संरक्षण, मर्मतसम्भार र दिगो व्यवस्थापनमा नगरपालिकाले आवश्यक सहजीकरण गर्ने बताए।

कार्यक्रमका क्रममा निर्माण गरिएका सिँचाइ आयोजनाहरू स्थानीय उपभोक्ता समितिमार्फत सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ। स्थानीयको श्रम तथा लागत सहभागिताले निर्माण भएका संरचनाप्रति अपनत्व बढेको र दीर्घकालसम्म उपयोग गर्न सहज हुने प्रमुख तामाङको भनाई छ।

नगरपालिकाले साना सिँचाइ कार्यक्रमबाट प्राप्त उपलब्धिलाई कृषि क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। जलवायु परिवर्तनका कारण वर्षा अनियमित बन्दै गएको अवस्थामा भरपर्दो सिँचाइ प्रणालीले कृषिलाई थप सुरक्षित, उत्पादनमुखी र व्यवसायिक बनाउन मद्दत पुगेको नगरपालिकाको निष्कर्ष छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully