कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशभर १८ हजार ६७ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो ।
धनकुटा — कोशी प्रदेशमा पछिल्ला ३ आर्थिक वर्षमा डेंगी संक्रमणको संख्या घट्दै गएको छ । संक्रमण घटेको तथ्यांक सार्वजनिक भए पनि वर्षायाम बाँकीनै रहेकाले जुनसुकै बेला संक्रमणले महमारीको रूप लिन सक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशभर १८ हजार ६७ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । यो संख्या आर्थिक वर्ष २०८१/०८२ मा घटेर ६ हजार ८६३ मा झरेको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ को असार तेस्रो सातासम्म भने ४ हजार ८२३ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठले जानकारी दिए ।
निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा तराईका २ जिल्लामा ३ हजार ७६२ र पहाडी तथा हिमाली ११ जिल्लामा १ हजार ६१ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी मोरङमा २ हजार ३८३ जना संक्रमित भएका छन् । सबैभन्दा कम इलाम र सोलुखुम्बुमा समान ४–४ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।
धनकुटामा पनि डेंगी संक्रमण उल्लेख्य रूपमा घटेको छ। ३ वर्षअघि धनकुटामा ४८३ जना संक्रमित भेटिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा १५६ जनामा संक्रमण पुष्टि भएको थियो । चालु आर्थिक वर्षको हालसम्म भने ५० जनामा मात्रै संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य अधिकृत श्रेष्ठले संक्रमण घटेको देखिए पनि ढुक्क भएर बस्ने अवस्था नरहेको बताए । उनका अनुसार वर्षायाममा लामखुट्टेको वृद्धि तीव्र हुने भएकाले व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिन, घर–आँगन वरपर पानी जम्न नदिन, लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियानमा सहभागी हुन र लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक छ ।
उनले वर्षाको समय अझै बाँकी रहेकाले संक्रमणले जुनसुकै बेला महामारीको रूप लिन सक्ने जोखिम रहेको उल्लेख गर्दै जिल्ला तथा स्थानीय तहसँगको समन्वयमा नियन्त्रण र रोकथामका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय धनकुटाकी प्रमुख सिर्जना बञ्जाडेले डेंगी नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्ला समन्वय समितिसँगको सहकार्यमा 'लार्भा खोज र नष्ट गर' अभियान सञ्चालन भइरहेको बताइन् । उनका अनुसार स्थानीय तहहरूले पनि आ–आफ्नो क्षेत्रमा यस्ता अभियान सञ्चालन गरिरहेका छन् ।
डेंगी एडिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यसका प्रमुख लक्षणमा उच्च ज्वरो, टाउको तथा आँखाको पछाडि दुख्ने, शरीर तथा जोर्नी दुख्ने, अत्यधिक कमजोरी महसुस हुने र वाकवाकी लाग्ने समस्या देखिन्छ । यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन चिकित्सकहरूले आग्रह गरेका छन् ।
