धनकुटाका १ सय ८० युवाले पाए व्यावसायिक सीप तालिम

धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीका अनुसार इन्स्योर परियोजनामार्फत १ सय ३० जना युवाले सीटीईभीटीअन्तर्गत मोटरसाइकल मर्मत, कुक, आल्युमिनियम फेब्रिकेसन, प्लम्बिङ, टेलिकम टेक्निसियनलगायतका व्यावसायिक तालिम पूरा गरेका हुन्।

असार २४, २०८३

विनोद घिमिरे

180 youth from Dhankuta received vocational skills training

What you should know

धनकुटा — विद्यालय तहका विद्यार्थीलाई भविष्यको पेसा छनोटमा मार्गदर्शन गर्ने र युवालाई सीपमार्फत रोजगारी तथा स्वरोजगारसँग जोड्ने उद्देश्यले सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना प्रभावकारी बन्दै गएको छ।

परियोजनामार्फत धनकुटा नगरपालिकामा हालसम्म ४ सय ४५ जना विद्यार्थीले वृत्तिमार्ग निर्देशन सेवा प्राप्त गरेका छन् भने १ सय ३० जना युवाले व्यावसायिक सीप तालिम लिएका छन्।

स्वीस सरकार र नेपाल सरकारको साझेदारीमा सञ्चालित परियोजनाले माध्यमिक विद्यालयमा करियर गाइडेन्स (वृत्तिमार्ग निर्देशन) कार्यक्रम र समुदायमा सीप विकासका गतिविधि सञ्चालन गर्दै आएको छ। विद्यार्थीको रुचि, क्षमता र सम्भावनाअनुसार उपयुक्त पेसा तथा तालिम छनोटमा सहयोग पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको हो।

इन्स्योर परियोजनाका कोशी प्रदेश संयोजक घनश्याम लिम्बूका अनुसार परियोजना हाल कोशी प्रदेशका १२ वटा स्थानीय तहमा कार्यान्वयन भइरहेको छ। धनकुटा नगरपालिकाका ९ वटा माध्यमिक विद्यालयमा वृत्तिमार्ग निर्देशन कार्यक्रम सञ्चालन गरिएको छ। सेवालाई थप व्यवस्थित बनाउन धनकुटा नगरपालिकाको कार्यालय परिसरमै वृत्तिमार्ग निर्देशन सेवा इकाइ स्थापना गरिएको छ, जहाँ विद्यार्थी तथा युवाले अध्ययन, सीप विकास र रोजगारीसम्बन्धी परामर्श लिन सक्ने व्यवस्था गरिएको छ ।

धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीका अनुसार परियोजनामार्फत १ सय ३० जना युवाले सीटीईभीटीअन्तर्गत मोटरसाइकल मर्मत, कुक, आल्युमिनियम फेब्रिकेसन, प्लम्बिङ, टेलिकम टेक्निसियनलगायतका व्यावसायिक तालिम पूरा गरेका हुन्। तालिमपछि उनीहरूलाई रोजगारी तथा स्वरोजगारतर्फ जोड्ने प्रयाससमेत भइरहेको उनले बताए। करिब १ सय १२ जना युवा रोजगारीमा जोडिसकेको उनले बताए ।

परियोजनाअन्तर्गत सञ्चालन भइरहेको ‘पढ्दै कमाउँदै’ अवधारणाले पनि सकारात्मक प्रभाव पार्न थालेको सरोकारवालाको भनाइ छ। भाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द राईले विद्यालयमा सञ्चालन भएको कार्यक्रमले विद्यार्थीलाई अध्ययनसँगै भविष्यको पेसा छनोटबारे स्पष्ट सोच बनाउन सहयोग पुगेको बताए। यद्यपि परियोजनाको बजेट अवधि सकिएपछि कार्यक्रमले निरन्तरता पाउने वा नपाउने विषयमा स्थानीय तहले दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले यस्ता सीपमूलक कार्यक्रमलाई परियोजनाको अवधिमा मात्र सीमित नराखी स्थानीय सरकारको नियमित कार्यक्रमका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे। धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले इन्स्योर परियोजनाको पहिलो र दोस्रो चरण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै तेस्रो चरण नेपाल सरकार, स्वीस सरकार र एसियाली विकास बैंकको साझेदारीमा सञ्चालन गर्ने तयारी रहेको बताए। आगामी चरणलाई अझ दीर्घकालीन र परिणाममुखी बनाइने उनको भनाइ छ। सीप हासिल गरेका युवाले व्यवसाय सुरु गर्न चाहेमा आवश्यक लगानी जुटाउन बैंक ग्यारेन्टीलगायतका विषयमा नगरपालिकाले सहजीकरण गर्ने प्रतिबद्धता पनि नगर प्रमुख तामाङको भनाइ छ।

मंगलबार आयोजित समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा परियोजनाको हालसम्मको प्रगति, उपलब्धि र आगामी कार्यदिशाबारे सरोकारवालाबीच छलफल गरिएको थियो। कार्यक्रममा परियोजनालाई स्थानीय तहको विकास योजना र प्राविधिक शिक्षासँग अझ प्रभावकारी रूपमा जोडेर निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully