धनकुटाको भीरगाउँबाट एकै सिजनमा ३ करोडको गाजर निकासी

धनकुटाको भीरगाउँमा ६ सयभन्दा बढी किसान गाजर खेतीमा संलग्न भई वार्षिक ७ करोड रुपैयाँ बराबरको गाजर विभिन्न जिल्लामा निर्यात गर्दैछन्।

असार १६, २०८३

विनोद घिमिरे

Carrots worth Rs 30 million exported from Bhirgaun, Dhankuta in a single season

What you should know

धनकुटा — धनकुटा नगरपालिका-२ को भीरगाउँ अहिले पूर्वी पहाडकै प्रमुख गाजर उत्पादन केन्द्रका रूपमा परिचित बन्दै गएको छ। मकै, कोदो र भटमास मुख्य बाली हुने यस गाउँमा अहिले खेतबारीभरि गाजर लहलहाएको देखिन्छ । नगदे बालीका रूपमा गाजर खेती फस्टाउँदै गएपछि किसानको आम्दानी बढेको छ भने गाउँको आर्थिक गतिविधि पनि चलायमान बनेको छ ।

भीरगाउँका करिब ६ सय किसान परिवार व्यावसायिक रूपमा गाजर खेतीमा संलग्न छन् । वैशाख महिनायता मात्रै यहाँबाट करिब ३ करोड रुपैयाँबराबरको गाजर बजारमा पुगेको वडा कार्यालयको तथ्यांक छ । वर्षमा दुई सिजन उत्पादन हुने भएकाले एक वर्षमै भीरगाउँबाट झन्डै ७ करोड रुपैयाँ बराबरको गाजर विभिन्न जिल्लामा निकासी हुने गरेको धनकुटा नगरपालिका-२ का वडाध्यक्ष चन्द्रलाल तामाङले बताए ।

Carrots worth Rs 30 million exported from Bhirgaun, Dhankuta in a single season

किन्ताङका जगत दर्लामी मगर १२ वर्षदेखि व्यावसायिक गाजर खेती गर्दै आएका छन् । उनले १२ रोपनी जमिनमा वर्षमा दुई सिजन गाजर लगाएर करिब ४ सय क्विन्टलसम्म उत्पादन गर्दै आएका छन् । यस वर्ष उनले प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्ममा गाजर बिक्री गरे ।  'उत्पादन राम्रो हुन्छ, तर बजारमा मूल्य व्यापारीले तोकिदिन्छन्,' उनले भने, 'कहिले ३० रुपैयाँ, कहिले ५० रुपैयाँ । हामीले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनौं, मूल्य पनि व्यापारीकै मुखमा छ ।' मगरले व्यापारीले तोकेकै भाउमा आफ्नो उपज बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । 

पहिले मकै खेती गर्ने जगत बाँदरका कारण गाजर खेतीतर्फ लागेको बताउँछन् । 'मकै लगाए बाँदरले सबै सखाप पारिदिन्छ । सिँचाइ पनि पर्याप्त छैन। गाजरमा जोखिम कम र आम्दानी राम्रो भएकाले यही खेती रोजेको हुँ,' उनले भने।

उनका छिमेकी सूर्यबहादुर मगर पनि लामो समयदेखि गाजर खेती गर्दै आएका छन् । उनीहरू भीरगाउँका धेरै उत्पादन गर्ने किसानमध्ये पर्छन् । उनीहरूजस्तै सयौँ किसान अहिले गाजर खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

Carrots worth Rs 30 million exported from Bhirgaun, Dhankuta in a single season

भीरगाउँको चोक्रोक, बस्नेत गाउँ, किन्ताङलगायतका क्षेत्रमा माघ-फागुनमा रोपिएको गाजर जेठ-असारमा र साउन अन्तिमतिर रोपिएको गाजर मंसिर-पुसमा उत्पादन हुन्छ । यसले किसानलाई वर्षमा दुई पटक आम्दानी गर्ने अवसर दिएको छ ।

वडाध्यक्ष तामाङका अनुसार गाजर खेती विस्तार गर्न आर्थिक वर्ष २०७५/७६ मा वडा कार्यालयले पकेट क्षेत्र घोषणा गर्दै किसानलाई निःशुल्क बीउ वितरण गरेको थियो । 'त्यतिबेला सुरु गरिएको कार्यक्रम अहिले सफल भएको छ । अहिले किसान आफैँ उत्साहित भएर गाजर खेती विस्तार गरिरहेका छन्,' उनले भने।

उनी स्वयं पनि व्यावसायिक कृषक हुन् । आधुनिक कृषि प्रवर्द्धनमा योगदान दिएबापत उनले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारसमेत प्राप्त गरिसकेका छन् ।

यस वर्ष गाजरको मूल्य प्रतिकिलो ४५ देखि ६० रुपैयाँसम्म पुगेको थियो । भीरगाउँको एक किसान परिवारले न्यूनतम ५० हजारदेखि ८ लाख रुपैयाँसम्मको गाजर बिक्री गर्ने गरेको वडा कार्यालयको तथ्यांक छ ।

कृषकहरूका अनुसार परम्परागत मकै, कोदो र भटमासबाट हुने आम्दानीले घरखर्च धान्नै मुस्किल हुने गरेको थियो । अहिले गाजर खेतीले नगद आम्दानी बढाएको छ । यसबाट छोराछोरीको पढाइ, घरखर्च, कृषि सामग्री खरिद र जीवनस्तर सुधारमा उल्लेख्य टेवा पुगेको उनीहरू बताउँछन् ।

तर किसानले अझै पनि उचित मूल्य, व्यवस्थित बजार, चिस्यान केन्द्र, भण्डारण र ढुवानी व्यवस्थामा सरकारी सहयोग आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार उत्पादन बढे पनि बजार व्यवस्थापन हुन नसक्दा कहिलेकाहीँ लागत उठाउनसमेत कठिन हुने गरेको छ ।

परम्परागत अन्नबालीमा सीमित रहेको भिरगाउँ अहिले नगदे बाली गाजरका कारण चिनिन थालेको छ । गाजर खेतीले किसानको आय मात्रै बढाएको छैन, गाउँको कृषि प्रणालीलाई समेत व्यवसायमुखी बनाउँदै लगेको वडाध्यक्ष तामाङ बताउँछन् । हिलेषडेश्वर मन्दिरदेखि चोक्रोक हुँदै अहिले मधुगंगा धामसम्मको सडक स्तरोन्नति हुँदैछ । हिले बजारबाट साढे किलोमिटर सडकमा कालोपत्र भइरहेको छ । यसले भीरगाउँ क्षेत्रमा उत्पादन हुने गाजरलगायत तरकारी फलफूल र दूध बजार पुर्‍याउन सजिलो हुने तामाङ बताउँछन् । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully