छथर जोरपाटीको बसाइँसराइ प्रभावित क्षेत्रमा आँप ब्लक कार्यक्रम

१ हजार २ सय रोपनी क्षेत्रफलमा आँप खेती विस्तार गर्ने लक्ष्यसहित किसानलाई ६ हजार बोट माल्दह जातका आँपका बिरुवा वितरण गरिएको छ।

असार ९, २०८३

विनोद घिमिरे

Mango block program in the displacement-affected areas of Chhathar Jorpati

What you should know

धनकुटा — बसाइँसराइका कारण बाँझो बन्दै गएको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा व्यावसायिक आँप खेती विस्तारका लागि आँप ब्लक विकास कार्यक्रम सुरु गरिएको छ।

कृषि ज्ञान केन्द्र धनकुटाले छथर जोरपाटी गाउँपालिका–३ र ४ को बन्चरे, सिभुवा तथा तेलियाका पाथीभरा, गुठ, पिप्ले, मार्सेलगायतका क्षेत्रमा स्थानीय किसानसँगको लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो। करिब १ हजार २ सय रोपनी क्षेत्रफलमा आँप खेती विस्तार गर्ने लक्ष्यसहित किसानलाई ६ हजार बोट माल्दह जातका आँपका बिरुवा वितरण गरिएको छ।

कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बसाइँसराइले  खाली भएको जमिनको सदुपयोग गर्दै व्यावसायिक कृषि उत्पादन केन्द्रका रूपमा विकास गर्न सरकारको १० लाख रुपैयाँ अनुदान र किसानको ६ लाख २५ हजार रुपैयाँ लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । 

स्थानीय समावेशी सक्रिय कृषि सहकारी संस्था मार्फत सञ्चालन गरिएको कार्यक्रममा ६ हजार आँपका बिरुवासँगै चार वटा यान्त्रिक हलो र ९ हजार ३ सय मिटर प्लास्टिक पाइप समेत उपलब्ध गराइएको छ।

सहकारीका अध्यक्ष डेकबहादुर लिम्बूले परम्परागत खेती प्रणाली कमजोर बन्दै जाँदा किसानलाई दीर्घकालीन आम्दानी दिने बहुवर्षीय बालीतर्फ आकर्षित गर्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। 'धान, मकै, कोदो र गहुँजस्ता परम्परागत बाली लगाउने क्रम घट्दै गएको छ। यस्तो अवस्थामा व्यावसायिक आँप खेतीले किसानलाई आयआर्जनको नयाँ विकल्प दिन सक्छ,' उनले भने।

छथर जोरपाटीको बन्चरे, सिभुवा, पाथीभरा, लामिछानेडाँडा, गुठ, पिप्ले, कर्कले, मार्से र तेलिया क्षेत्रमा बसाइँसराइको दर उच्च छ। बसाइँ सरेर गएका परिवारले छाडेका जग्गा खाली रहेकाले ती क्षेत्रमा समेत अभियानकै रूपमा आँप खेती विस्तार गर्न प्रेरित गरिएको स्थानीय किसान दीपक परियारले जनाए ।

संघीय सरकारको कार्यक्रम भए पनि कृषि ज्ञान केन्द्रमार्फत कार्यान्वयन भइरहेको निमित्त प्रमुख रानाले जानकारी दिए। उनका अनुसार उक्त क्षेत्र हावापानी र भूगोलका हिसाबले आँप खेतीका लागि उपयुक्त मानिन्छ।

धनकुटा सदरमुकामबाट बिहीबारे हाट, ताङ्खुवा खोला, बन्चरे, लामिछानेडाँडा हुँदै तेलियासम्म पुग्ने करिब २३ किलोमिटर सडक कालोपत्रे भइसकेकाले उत्पादनको बजारीकरणमा समेत सहजता हुने अपेक्षा गरिएको छ।

यसैबीच, छथर जोरपाटी गाउँपालिकाले सिभुवामा औद्योगिक ग्राम स्थापना गरिसकेको छ। आँप उत्पादनसँगै प्रशोधन तथा सह–उत्पादनको समेत पर्याप्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक रूपमा लाग्न जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले आग्रह गरे । उनले आँप खेतीले खाली जमिनको सदुपयोग, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully