प्रत्येक वडामा २५ जनाका दरले विपद् सूचक चयन गरी सशस्त्र प्रहरीसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यवस्था गरिएको छ।
What you should know
धनकुटा — विपद्को समयमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले धनकुटामा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह तयार गरिएको छ।
सशस्त्र प्रहरीले समूहलाई विपद्को परिचय, बाढी–पहिरो तथा पानीजन्य विपद्मा खोज तथा उद्धार, भूकम्प, आगलागी नियन्त्रण तथा सुरक्षा, भत्किएका संरचनामा खोज तथा उद्धार, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनका आधारभूत सीपबारे प्रशिक्षण सुरु गरेको हो ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मुख्यालय पकली सुनसरी तथा सशस्त्र प्रहरी नं ६ गुल्म मुख्यालय छिन्ताङ धनकुटाको सहकार्यमा सञ्चालन गरेको तालिममा नगर प्रहरी, विपद् सूचक तथा स्थानीयवासी गरी २० जना सहभागी छन् ।
सशस्त्र प्रहरी गुल्म मुख्यालय छिन्ताङ परिसरमा आयोजित तालिम उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विपद्का घटनामा स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने बताइन्। समुदायमै दक्ष जनशक्ति तयार भए विपद्को प्रभाव न्यूनीकरण गर्न र उद्धार कार्यलाई छिटो तथा प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने उनको भनाइ थियो। उनले विपद् व्यवस्थापन सरकारी निकायको मात्र जिम्मेवारी नभई समुदायको सक्रिय सहभागिता र तयारी पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरिन्।
कार्यक्रममा सशस्त्र प्रहरीको छिन्ताङ गुल्मका गुल्मपति प्रेम प्रसाद सिग्देलले समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर विपद् प्रतिकार्य कार्यलाई अझ प्रभावकारी बनाइने बताए। विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न स्थानीय समुदाय र सुरक्षा निकायबीचको समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो।
धनकुटामा विपद् उद्धार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले जिल्लाका ६० वटै वडामा विपद् सूचक परिचालन गरिसकेको छ। प्रत्येक वडामा २५ जनाका दरले विपद् सूचक चयन गरी सशस्त्र प्रहरीसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यवस्था गरिएको छ। साथै, हरेक वडामा १५ जनासम्म प्रशिक्षित विपद् सूचक तयार पार्ने अभियानसमेत सञ्चालन भइरहेको सिग्देलले जानकारी दिए।
