श्रमदानमा खनेकाे हिले–मधुगंगा सडक २६ वर्षपछि कालोपत्र हुँदै

स्थानीय श्रमदानबाट सुरु भएको ७.३ किलोमिटर सडक विश्व बैंकको ३६ करोड सहयोगमा स्तरोन्नति तथा कालोपत्रको काम अघि बढेको छ।

जेष्ठ २८, २०८३

विनोद घिमिरे

Hile-Madhuganga road, dug with labor, is being blacktopped after 26 years

What you should know

धनकुटा — स्थानीयको श्रमदानबाट २०५७ सालमा सुरु गरिएको धनकुटाको हिले–चोक्रोक–भीरगाउँ–मधुगंगा सडक २६ वर्षपछि कालोपत्र भइरहेको छ।

धनकुटा नगरपालिकाको रिङरोड अवधारणाअन्तर्गत रहेको यो सडकको पहिलो खण्डमा यतिबेला कालोपत्रको काम अघि बढेको हो । विश्व बैंकको ३६ करोड रुपैयाँ अनुदान सहयोगमा धनकुटा नगरपालिका–१ को हिले, चोक्रोक र भीरगाउँ हुँदै धार्मिक तथा पर्यटकीय महत्व बोकेको मधुगंगा धामसम्म पुग्ने ७ किलोमिटर ३ सय मिटर सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको हो ।

धनकुटा नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम गौतमका अनुसार सुरुमा ३२ करोड रुपैयाँमा सम्झौता भएको परियोजनाको लागत थप संरचना निर्माण र प्राविधिक सुधारका कारण बढेर ३६ करोड रुपैयाँ पुगेको हो ।

उनका अनुसार कुल ७.२ किलोमिटर सडकमध्ये ३.३ किलोमिटर खण्डमा ढलान गरिएको छ भने बाँकी ४ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र भइरहेको छ । निर्माण कम्पनीसँग आगामी असार १६ भित्र काम सम्पन्न गर्ने सम्झौता भएको छ । 'वर्षाले अवरोध नगरे असार ७ सम्म काम सकिन्छ। त्यसपछि सडक सौन्दर्यीकरण, नाली व्यवस्थापन र संकेत चिह्न राख्ने काम अघि बढ्छ,' गौतमले भने ।

यो सडक निर्माणको सुरुवात स्थानीयवासीले जनश्रमदानमार्फत गरेका थिए। सडकको ट्रयाक खोल्न गाउँलेहरूले ९६ दिनसम्म श्रमदान गरेका थिए। त्यतिबेला डोजर र बजेटको अभावका बीच स्थानीयले आफ्नै बलबुतामा सडक विस्तार गरेका थिए।

स्थानीयवासी फुर्वा तामाङका अनुसार सडक कालोपत्र हुन थालेपछि गाउँको विकासले नयाँ गति लिने विश्वास बढेको छ। 'हिलो र धुलोले हैरान हुन्थ्यौं। अब कृषि उत्पादन बजार लैजान सजिलो हुन्छ। बिरामीलाई अस्पताल पुर्‍याउन र विद्यार्थीलाई विद्यालय जान पनि सहज हुनेछ,' उनले भने।

चोक्रोक, भीरगाउँ, किन्ताङ र मधुगंगा क्षेत्र गाँजर, मुला, आलु, हरियो तरकारी तथा दुग्ध उत्पादनका लागि परिचित क्षेत्र हुन्। विशेषगरी भीरगाउँलाई धनकुटा नगरपालिकाले गाँजर उत्पादन पकेट क्षेत्र घोषणा गरेको छ।
धनकुटा नगरपालिका–२ का वडा अध्यक्ष चन्द्रलाल तामाङका अनुसार किसानलाई गुणस्तरीय बीउ, विषादी, प्राविधिक परामर्श तथा कृषि सामग्री उपलब्ध गराउने कार्यक्रम सञ्चालन हुँदै आएको छ। 'सडक राम्रो भएपछि उत्पादनको ढुवानी लागत घट्छ। किसानले उत्पादनको उचित मूल्य पाउने सम्भावना बढ्छ,' तामाङले भने।

स्थानीय कृषकहरूका अनुसार अहिले कच्ची सडकका कारण वर्षायाममा तरकारी र दूध बजारसम्म पुर्‍याउन समस्या हुने गरेको छ। कालोपत्र सडक सञ्चालनमा आएपछि कृषि उपजको बजारीकरण थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। यो सडकले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मधुगंगा धामसम्मको पहुँच सहज बनाउनेछ।

मधुगंगा क्षेत्र पछिल्ला वर्षमा धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ। सडक स्तरोन्नतिसँगै आन्तरिक पर्यटकको आगमन बढ्ने र स्थानीय होटल तथा व्यवसायलाई समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

रिङरोडको अवधारणाअनुसार निर्माण अघि बढाइए पनि सडकको दोस्रो खण्ड भने अझै कालोपत्र हुन सकेको छैन। धनकुटा सदरमुकामको बिहीबारे हाट–मालबाँसे–भिरगाउँ–मधुगंगा खण्डमा ट्रयाक खोलिए पनि बजेट अभावका कारण कालोपत्र प्रक्रिया सुरु हुन सकेको छैन।

गौतमका अनुसार दोस्रो खण्ड स्तरोन्नति तथा कालोपत्रका लागि विश्व बैंकसमक्ष प्रस्ताव पेश गरिएको भए पनि हालसम्म स्वीकृति प्राप्त भएको छैन। यसबीच नगरपालिकाले विभिन्न स्थानमा पर्खाल निर्माण, कल्भर्ट जडान, नाली व्यवस्थापन तथा माटो कटिङको काम गर्दै आएको उनले बताए।

सडक पूर्णरूपमा सञ्चालनमा आएपछि भीरगाउँ हुँदै छथर जोरपाटी गाउँपालिकाका तेलिया, ताङ्खुवालगायतका बस्तीमा समेत यातायात पहुँच विस्तार हुनेछ। यसले धनकुटा नगरपालिकाको ग्रामीण क्षेत्रलाई सदरमुकामसँग जोड्दै कृषि, पर्यटन, व्यापार तथा सेवा प्रवाहलाई थप सहज बनाउने छ। दशकौैंदेखि प्रतीक्षामा रहेको सडक कालोपत्र हुन थालेपछि स्थानीयवासीमा उत्साह थपिएको छ। 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully