खानीजन्य फोहर व्यवस्थापन ढिलाइले सहिदभूमिको बस्ती जोखिममा परेको गुनासो

सालबोटे क्षेत्रमा सञ्चालित दन्तकाली क्वेरिजको उत्खननबाट निस्कने लेदो, माटो र गेग्रान बर्खामा बस्तीमा पुग्ने जोखिम बढेपछि स्थानीयले तत्काल दीर्घकालीन व्यवस्थापनको माग गरेका हुन्।

जेष्ठ ८, २०८३

विनोद घिमिरे

Complaints that delays in mining waste management are putting the settlements of Shahid Bhumi at risk

What you should know

धनकुटा — धनकुटाको सहिदभूमि गाउँपालिका–७ मा सञ्चालित शिवम् सिमेन्ट अन्तर्गतको दन्तकाली क्वेरिजबाट निस्कने खानीजन्य फोहरको उचित व्यवस्थापन नभएको भन्दै स्थानीय बासिन्दाले आफ्नो बस्ती, खानेपानी र सडक जोखिममा परेको गुनासो गरेका छन्।

सालबोटे क्षेत्रमा सञ्चालित दन्तकाली क्वेरिजले करिब ५ हजार ९ सय ४६ वर्ग किलोमिटर मिटर क्षेत्रफलमा खानी उत्खननको अनुमति पाएको छ। खानीबाट निस्कने लेदो, माटो र गेग्रान वर्षायाममा बगेर तलको बस्ती क्षेत्रमा पुग्न सक्ने जोखिम बढेपछि स्थानीयले तत्काल दीर्घकालीन व्यवस्थापनको माग गरेका हुन्।

स्थानीयका अनुसार लुङदाङ टोलनजिकै खानीजन्य फोहर थुप्रिँदा वर्षातका बेला पहिरो, बाढी तथा ढुंगा–माटो बगेर आउने सम्भावना बढेको छ। यसले बस्ती मात्र नभई स्थानीयले प्रयोग गर्ने खानेपानीका स्रोत र ग्रामीण सडकसमेत प्रभावित हुन सक्ने उनीहरूको भनाइ छ।

लुङदाङ टोलका रामबाबु राईले वर्षा सुरु भइसकेकाले जोखिम न्यूनीकरणका लागि यथाशीघ्र प्रभावकारी र दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने बताए। 'पानी पर्न थालेपछि समस्या झन् बढ्न सक्छ। बस्ती, खानेपानी र सडक जोगाउन कम्पनीले तत्काल काम गर्नुपर्छ,' उनले भने ।

उता दन्तकाली क्वेरिजको स्थानीय व्यवस्थापनको जिम्मा लिएका होमराज दाहालले खानीजन्य फोहर व्यवस्थापनका लागि आवश्यक संरचना निर्माणको काम सुरु गरिएको जानकारी दिए । उनका अनुसार लेदो तथा गेग्रान नियन्त्रण गर्न ड्याम निर्माण, पानी र लेदो सुरक्षित रूपमा खोल्सातर्फ मोड्न चेकड्याम तथा अवसादन (सेडिमेन्टेसन) पोखरी निर्माणको काम अघि बढाइएको छ।

'खानीको फोहर व्यवस्थापन चुनौतीपूर्ण भए पनि अहिले दीर्घकालीन समाधानतर्फ काम सुरु भएको छ,' दाहालले भने, 'प्रभावित क्षेत्रका अधिकांश जग्गा कम्पनीले खरिद गरिसकेकाले अब आवश्यक संरचना निर्माण गर्न सहज भएको छ।'

कम्पनीका अनुसार खानी प्रभावित क्षेत्रअन्तर्गत पर्ने पाखा टोलको अधिकांश जग्गा अधिग्रहण भइसकेको छ । यद्यपि केही स्थानीय मुआब्जा लिएर पनि विभिन्न कारणले अझै जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका छन् । स्थानीय देवानध्वज राईले आफूले जग्गा बिक्री गरी अन्यत्र बसोबासको व्यवस्था मिलाइसकेको र छिट्टै स्थानान्तरण हुने बताए। तर केही परिवारले धार्मिक तथा सांस्कृतिक कारणले तत्काल स्थान छोड्न नसकेको बताएका छन्। उनीहरूका अनुसार कुलदेवता तथा अन्य धार्मिक संरचना सार्ने प्रक्रिया पूरा नभएकाले नयाँ स्थानमा बसाइँ सर्न ढिलाइ भएको हो।

यसैबीच जिल्ला प्रशासन कार्यालय धनकुटाले खानी प्रभावित क्षेत्रमा बसोबास गरिरहेकालाई जोखिमप्रति सचेत रहन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जग्गा बिक्री गरिसकेर पनि जोखिमयुक्त स्थानमा बसिरहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेका छन् । 'वर्षायाम सुरु भइसकेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका बासिन्दाले सुरक्षित स्थानमा सर्नु आवश्यक छ,' रेग्मीले भने, 'प्रशासनले पनि परिस्थितिको निरन्तर अनुगमन गरिरहेको छ।'

स्थानीयवासीले भने खानी सञ्चालनबाट प्राप्त आर्थिक लाभसँगै वातावरणीय तथा सामाजिक प्रभावको जिम्मेवारीसमेत कम्पनीले वहन गर्नुपर्ने बताएका छन् । उनीहरूले फोहर व्यवस्थापन, ढल निकास नियन्त्रण, खानेपानी स्रोत संरक्षण तथा जोखिम न्यूनीकरणका काम प्रभावकारी रूपमा अघि बढाउन माग गरेका छन्।
खानीजन्य फोहर व्यवस्थापनको विषयलाई लिएर बेलाबेला स्थानीय, कम्पनी र सरोकारवाला निकायबीच छलफल भने चल्दै आएको छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully