ट्राफिक संकेत मासिँदा यात्रामा जोखिम

बिहीबारे हाट–बन्चरे–तेलिया–परेवादिन सडकमा दुई दर्जनभन्दा बढी ट्रफिक संकेत मासिएका छन् । 

वैशाख २७, २०८३

विनोद घिमिरे

Travel risk due to traffic signal failure

What you should know

धनकुटा — धनकुटाको बिहीबारे हाट–बन्चरे–तेलिया–परेवादिन सडकअन्तर्गत विभिन्न स्थानमा राखिएका ट्राफिक संकेत तथा सडक सुरक्षा सामग्री तोडफोड भएका छन् । यस्ता संकेत तथा सडक सुरक्षा सामग्री तोडफोड हुँदा अफ्ठयारा मोडलगायतका सडक खण्डमा चालकहरू सास्ती भोग्न बाध्य छन् । 

संकेत बोर्ड मासिँदा सवारीको गति नियन्त्रणमा कठिनाइ हुने, आकस्मिक ब्रेक लगाउँदा दुर्घटना बढ्ने तथा पैदल यात्रु समेत जोखिममा पर्ने सवारीचालक तेलियाका तीर्थबहादुर लिम्बु बताउँछन् । गत वर्ष मात्रै कालोपत्रे भई प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उक्त सडकको ताङ्खुवा खोलादेखि लामिछानेडाँडा सडक खण्डसम्मका घुम्ती, कल्भर्ट, उकालो तथा साँघुरा ठाउँबारे सचेत गराउन राखिएका संकेत बोर्ड कतै उखेलेर फालिएका छन् भने कतिपय मेटिएर कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

विशेषगरी छथर जोरपाटी गाउँपालिका–३ अन्तर्गत पर्ने तांखुवा खोला–लामिछानेडाँडा सडक खण्डमा मात्रै २ दर्जनभन्दा बढी ट्राफिक संकेत बोर्ड भाँचिएका, मेटिएका तथा सडकछेउमा अलपत्र अवस्थामा छन् । सडकका ती संकेत बिग्रिँदा यात्रु तथा सवारी चालकले सडकको अवस्था थाहा नपाउँदा दुर्घटनाको जोखिम बढेको छ ।

सडक सुरक्षाका लागि राखिएका ट्राफिक संकेतले घुम्ती, ओरालो, उकालो, साँघुरो बाटो, विद्यालय क्षेत्र, पुल तथा जोखिमयुक्त स्थानबारे चालकलाई पूर्वजानकारी दिने गर्छन् । यस्ता संकेत नहुँदा विशेषगरी रातिको समयमा, वर्षायाममा वा अपरिचित चालकका लागि दुर्घटनाको सम्भावना झन् बढ्ने यातायात विज्ञहरू बताउँछन् । 

पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख उत्तमनारायण खरेलले ट्राफिक संकेत उखेलेर फालिएको, भाँचिएको तथा मेटिएको विषयमा अनुगमन गरेर दोषीमाथि कारबाही गरिने जानकारी दिए । उनले सडक सुरक्षासँग जोडिएका सामग्री नष्ट गर्नु कानुन उल्लंघन हो । तत्काल मर्मत तथा पुनःस्थापना प्रक्रिया अघि बढाइने उनले बताए । 'भाँचिएका र मेटिएका ट्राफिक संकेत पुनःस्थापना गरिन्छ, मर्मत गर्न मिल्नेलाई मर्मत गरेर फेरि राख्छौं,' खरेलले भने, 'यस्तो उपद्रोह गर्नेमाथि कानुनी कारबाही पनि अघि बढाइन्छ ।'Travel risk due to traffic signal failure

छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले सार्वजनिक सम्पत्ति नष्ट अस्वीकार्य भएको बताए । उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिको खोजी गरी कानुनअनुसार कारबाही गरिने चेतावनी दिए ।

'सार्वजनिक सम्पत्ति सबै नागरिकको साझा सम्पत्ति हो,' अध्यक्ष सुब्बाले भने, 'यसलाई बिगार्ने र नष्ट गर्ने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग अनुरोध गर्छौं ।'

स्थानीयवासीले सडक कालोपत्रे भएसँगै यातायात सहज बने पनि सडक सुरक्षाका संरचना संरक्षणमा बेवास्ता हुँदा जोखिम बढेको गुनासो गरेका छन् । उनीहरूले सडकमा राखिएका ट्राफिक संकेत, डिभाइडर, रेलिङ तथा किलोमिटर संकेतजस्ता संरचनाको संरक्षणमा स्थानीय समुदाय, प्रहरी र सम्बन्धित निकायले संयुक्त निगरानी बढाउनु पर्ने बताएका छन् ।

पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख उत्तमनारायण खरेलले सडकको रेखदेख र सुरक्षाका लागि उक्त खण्डमा भर्खरै दुईजना सडक हेरालुको व्यवस्था गरेकाले सामान्य मर्मत सम्भार तथा रेखदेखको काम उनीहरुबाटै अघि बढ्ने जानकारी दिए । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully