चौविसेमा १० महिनामा १३ प्रतिशत मात्रै पुँजीगत खर्च

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कुल ५५ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

वैशाख २६, २०८३

विनोद घिमिरे

Only 13 percent of capital expenditure in 10 months of 2024

What you should know

धनकुटा — धनकुटाको चौविसे गाउँपालिकामा चालु आर्थिक वर्षको १० महिना बित्न लाग्दा पुँजीगत खर्च अत्यन्तै न्यून देखिएको छ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको पुँजीगत बजेटमध्ये हालसम्म जम्मा १३ प्रतिशत मात्रै खर्च भएको जनाएको छ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कुल ५५ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये चालुतर्फको बजेट ५९ प्रतिशत खर्च भइसके पनि पुँजीगततर्फ विनियोजित १६ करोड ३५ लाख ९५ हजार रुपैयाँमध्ये हालसम्म १३ प्रतिशत मात्रै खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले जानकारी दिए।

उनका अनुसार ठेकेदार कम्पनीहरूले सम्झौताअनुसार काम नगर्दा भौतिक प्रगति निराशाजनक बनेको हो। निर्माण व्यवसायीलाई पटक–पटक काम छिटो सम्पन्न गर्न निर्देशन दिइए पनि अपेक्षाअनुसार काम नभएको उनले बताए। 'लो बिडिङ गरेर ठेक्का लिएका निर्माण व्यवसायीहरूले इन्धनलगायतका सामग्रीको मूल्य बढेपछि काम गर्न आनाकानी गरेका हुन्,' मेहताले भने, 'अहिले पनि नियमित रूपमा काम गरे आयोजनाहरू सम्पन्न गर्न सकिने अवस्था छ।'

उनले तोकिएको समयमा काम सम्पन्न नभए संघीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम फिर्ता हुन सक्ने चेतावनी दिए। यद्यपि सशर्त बजेट फिर्ता गए पनि गाउँपालिकाको आन्तरिक स्रोतबाट आगामी वर्ष काम निरन्तरता दिन सकिने उनको भनाइ छ।

संघीय सरकारको निर्देशनपछि १० लाख रुपैयाँभन्दा बढी लागतका योजना ठेक्का प्रक्रियामार्फत सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको थियो। सोहीअनुसार करिब ७ करोड ९५ लाख ७० हजार रुपैयाँ लागत अनुमान भएका १४ वटा सालबसाली योजना ठेक्का सम्झौतामार्फत सञ्चालन गरिए पनि हालसम्म एउटा पनि आयोजना सम्पन्न हुन सकेको छैन।

गाउँपालिकाका अनुसार राजारानी–अठारसय–कुरुले सडक स्तरोन्नति, राजारानी–मौनाबुधुक–बोधे–हंशमोरङ सडक स्तरोन्नति, ठाडागाउँ–कोर्ना–सौरे–मुढेबास बृहत खानेपानी आयोजना, जरुवाखोला–पौवा कृषि सडक स्तरोन्नति, पानवाला–सुरुङ्गी–बरबोटे सडक, काँगडाताल व्यवस्थापन तथा सौन्दर्यीकरण, चौबाटो खेलमैदान बहुउद्देश्यीय कबर्डहल निर्माणलगायतका योजनाको भौतिक प्रगति न्यून रहेको छ।

त्यस्तै सदामटार खानेपानी व्यवस्थापन, लभडाँडा मुन्दुम पार्क निर्माण, कुरुले मावि कम्पाउण्ड घेराबारा, सुरुङ्गी खेलमैदान व्यवस्थापन तथा युवाहाङसाम माङहिम मन्दिर निर्माणको काम पनि सन्तोषजनक नरहेको प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए।

निर्माण व्यवसायीहरूले भने इन्धनको अस्वाभाविक मूल्यवृद्धिका कारण सम्झौता अनुसार काम गर्न कठिन भएको बताएका छन्। चौविसे कन्स्ट्रक्सन का सञ्चालक हर्क चेम्जोङले समय थप गरेर भए पनि काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए। 'मूल्यवृद्धिले समस्या बनाएको बेला सरकारले निर्माण व्यवसायीलाई राहत दिन सकेन,' चेम्जोङले भने, 'घरबारी बेचेर भए पनि सम्झौता भएका काम पूरा गर्छौं, तर थप समय चाहिन्छ।'

उनले डिजेलको मूल्यमा भएको अप्रत्याशित वृद्धिले निर्माण व्यवसायी ठूलो समस्यामा परेको बताए। 'डिजेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ हुँदा ठेक्का परेको काम अहिले २२६ रुपैयाँ पुग्दा कसरी पुरा गर्ने ?' उनले प्रश्न गरे, 'तैपनि समयसीमाभित्रै काम सक्ने योजनामा छौं।'

चौविसे कन्स्ट्रक्सनले मात्रै गाउँपालिकाभित्र चार वटा सडक स्तरोन्नतिको जिम्मा लिएको जनाएको छ।
यता उपभोक्ता समितिमार्फत सञ्चालन भएका योजनाको प्रगति भने उत्साहजनक देखिएको गाउँपालिकाले जनाएको छ। उपभोक्ता समितिबाट सञ्चालित १ सय २४ योजनामध्ये ६६ वटा योजना सम्पन्न भइसकेका छन्। प्रमुख प्रशासकीय अधिकृत मेहताका अनुसार उपभोक्ता समितिमार्फत सञ्चालित योजनाको कार्यान्वयन तुलनात्मक रूपमा प्रभावकारी देखिएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully