समाजको तेस्रो आँखा पत्रकारिता क्षेत्र कहिल्यै धमिलो हुनु हुँदैन : मन्त्री महतो

मन्त्री महतोले गलत सूचना र अफवाहका कारण समाजमा भ्रम र अविश्वास फैलिने भएकाले तथ्यमा आधारित पत्रकारिता अहिलेको प्रमुख आवश्यकता बनेको बताएका छन्।

वैशाख २६, २०८३

विनोद घिमिरे

Journalism, the third eye of society, should never be blurred: Minister Mahato

What you should know

धनकुटा — कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले सत्य, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताले मात्रै समाजमा विश्वास कायम गर्न सक्ने बताएका छन्। राज्य सञ्चालनका अङ्गहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले  बाटो बिराए पत्रकारिता क्षेत्रले त्यसलाई सच्याउने भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ । 

नेपाल पत्रकार महासङ्घको महिला विभागले तेह्रथुमको बसन्तपुरमा सञ्चालन गरेको 'तथ्य जाँच'सम्बन्धी तालिम उद्घाटन गर्दै मन्त्री महतोले पत्रकारिता समाजको 'तेस्रो आँखा' भएकाले यो कहिल्यै धमिलो हुन नहुने बताएका हुन्।

उनले डिजिटल माध्यम र सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अपुष्ट सामग्री तथा अफवाह तीव्र रूपमा फैलिरहेका बेला पत्रकारले तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। 'पत्रकारिताको मूल आधार सत्य र तथ्य हो,' मन्त्री महतोले भने, 'सामाजिक सञ्जालमा आएका हरेक सामग्रीलाई समाचार बनाउने होइन, त्यसको सत्यता परीक्षण गरेर मात्रै सार्वजनिक गर्नुपर्छ।'

मन्त्री महतोले गलत सूचना र अफवाहका कारण समाजमा भ्रम र अविश्वास फैलिने भएकाले तथ्यमा आधारित पत्रकारिता अहिलेको प्रमुख आवश्यकता बनेको बताएका छन्। लोकतन्त्रमा स्वतन्त्र, जिम्मेवार र उत्तरदायी पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले पत्रकारले कुनै दबाब वा प्रभावमा नपरी सत्यतथ्यमा आधारित सामग्री प्रस्तुत गर्नुपर्ने धारणा राखे।

उनले महिला पत्रकारहरूको सहभागिता सञ्चार क्षेत्रमा बढ्दै जानु सकारात्मक संकेत भएको उल्लेख गर्दै तथ्य जाँचसम्बन्धी तालिमले पत्रकारितालाई अझ विश्वसनीय, प्रभावकारी र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। 'महिला पत्रकारहरूले संवेदनशील विषयमा जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्दा समाजमा सकारात्मक प्रभाव पर्छ,' उनले भने। 

पत्रकार महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले  समाचारको सत्यता परीक्षण गर्ने विधि, स्रोतको विश्वसनीयता पहिचान, तस्बिर तथा भिडियो प्रमाणीकरण, सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सामग्रीको विश्लेषणलगायत विषयमा सहजीकरण भइरहेको बताए। कार्यक्रममा कोशी प्रदेशका धनकुटा, तेह्रथुम, झापा, सुनसरी लगायत जिल्लाका महिला पत्रकारको सहभागिता छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully