जाँतो–सिलौटोको बजार खोज्दै गाउँ–गाउँ

मोरङबाट धनकुटासम्म ढुंगा ल्याएर जाँतो, सिलौटो बनाउनेहरू बजार खोज्न गाउँ-गाउँ डुल्दै परम्परागत सीप जोगाइरहेका छन्।

वैशाख २५, २०८३

विनोद घिमिरे

Village after village searching for markets for millstones and cobblestones

What you should know

धनकुटा — धनकुटाको बसपार्क छेउमा बिहानैदेखि ठक–ठक आवाज आउन थाल्छ । छिनोमा हथौडाको ताल मिलाउँदै मोरङका प्रेम शर्मा, राहुल शर्मा र अंकित शर्मा बिहानदेखि नै ढुंगामा परम्परागत जाँतो, लोहोरो र सिलौटो कुँदिरहेका हुन्छन् ।

एक साताअघि मोरङबाट धनकुटा उक्लिएको यो टोली बिहानदेखि साँझसम्म ढुंगामा कला कुँदिरहेको छ। केही दिन यहाँ बसेपछि उनीहरू बजार खोज्दै फेरि अन्य गाउँतर्फ लाग्नेछन् । जुन ठाउँमा बनायो त्यहीँ आसपास बेच्ने गरेका उनीहरूले दैनिक १५ देखि २० वटासम्म जाँतो र सिलौटो बिक्री भइरहेको बताए। उनीहरू आफैं पनि ग्राहक खोज्दै गाउँ–गाउँ डुल्छन्। खच्चरमा सामान बोकेर उकालो–ओरालो गर्दै ग्राहकका घरघर पुग्नु उनीहरूको दैनिकी हो। ‘यो काम हाम्रो पुर्खादेखि चल्दै आएको छ,’ प्रेमले भने, ‘हामीले सिकेको सीप यही हो, यसैले हाम्रो घरधन्दा चलिरहेको छ।’

उनका बुवा र बाजेले पनि यही पेशामै जीवन बिताए। अहिले नाति पुस्तासम्म आइपुग्दा पनि यसले निरन्तरता पाइरहेको छ। पुस्तान्तरणसँगै सीपमा निखार थपिएको छ। भनेजस्तो ढुंगा नपाउने, बजार खोज्दै टाढाटाढासम्म धाउनुपर्ने र लागत बढ्ने जस्ता समस्या पनि यस पेशामा नभएका होइनन् । ‘राम्रो, कडा र टिकाउ ढुंगा नछानेसम्म राम्रो सामान बन्न सक्दैन, टिकाउ नभए ग्राहक भड्किन्छन्,’ प्रेम भन्छन् ।

उनीहरु जाँतो र सिलौटो बनाउन उपयुक्त ढुंगा मोरङको लेटाङबाट गाडीमार्फत ल्याउँछन् । ढुंगा ल्याउँदा स्थानीय तहलाई निश्चित रकम राजस्व बुझाउनुपर्छ । हेर्दा यो काम सजिलो जस्तो लागे पनि जाँतो–सिलौटो बनाउन श्रम र समय निकै खर्च हुने अंकित सुनाउँछन् ।

सबै काम हातैले गर्नुपर्ने भएकाले अनुभव र धैर्यता चाहिने उनी सुनाउँछन् । बिहानदेखि बेलुकासम्म एक जनाले ५ वटासम्म सिलौटो र ३ वटा जाँतो बनाउन सक्छन् । ‘एकै दिनमा धेरै बनाउने होइन, राम्रो बनाउने र गुणस्तरीय सामग्री बेच्ने हो,’ अंकित भन्छन् ।

आकार, गुणस्तर र ढुंगाको किसिम अनुसार एउटा जाँतोको १ हजार ८ सयदेखि ३ हजार रुपैयाँसम्म पर्छ भने सिलौटो ७ सयदेखि १ हजार ५ सयसम्ममा बिक्री हुन्छ। उनीहरूका लागि जाँतो र सिलौटोको मूल्यभन्दा ठूलो चुनौती बजारको हो ।

आधुनिक भान्सामा मिक्सर–ग्राइन्डरको प्रयोग बढ्दै जाँदा परम्परागत जाँतो–सिलौटोको माग घट्दो छ। तैपनि, परम्परा, स्वाद र संस्कृतिसँग जोडिएका कारण यी सामग्रीको महत्व अझै सकिएको भने छैन।

मसला, अचार र दाल पिस्न जाँतो र सिलौटो प्रयोग हुन्छ । ‘ढुंगाको सिलौटोमा पिसेको मसला र जाँतोमा पिसेको पिठोको स्वाद नै फरक हुन्छ,’ जाँतो किन्न आएकी अम्बिका पराजुली भन्छिन् ‘ चलाउन सजिलो भए पनि जाँतो र सिलौटोको स्वाद मिक्सरले दिन सक्दैन।’ यही विश्वासले अझै पनि केही घरपरिवारले परम्परागत सामग्री रोजिरहेका छन्। शहरी क्षेत्रका उपभोक्ताले अझै बढी यस्ता सामग्री खोज्ने गरेका छन् ।

तर ढुंगाबाट बनेका उत्पादन बेच्न बजार सहज र स्थिर छैन। त्यसैले शर्माको टोली धनकुटा, तेह्रथुम, भोजपुर, पाँचथर, संखुवासभालगायत पहाडी जिल्लामा पुगेर आफ्नो सामान बिक्री गर्छ। ‘पहाडको बाटो गाह्रो हुन्छ, खच्चरमा बोकाएर हिँड्नुपर्छ, कहिले मौसमले साथ दिन्छ, कहिले दिँदैन,’ राहुल भन्छन्, ‘तर जीविकाका लागि हिँड्नै पर्छ।’ खच्चरमा सामान बोकेर गाउँ–गाउँ नपुगे सामान बिक्री गर्न नसकिने उनले सुनाए । भन्छन्, 'घरघर नपुगे बेच्ने उपाय छैन । आम्दानी राम्रो देखिए पनि खर्च कटाउँदा पैसा धेरै बच्दैन । तर यही पेशाले परिवार धानेको छ ।' कमाइ धेरै नभए पनि बालबालिकाको पढाइ, घरखर्च चलिरहेको अंकितले बताए । समयसँगै परम्परागत पेशाहरू हराउँदै गइरहेका बेला पुर्ख्याैली पेशाबाट जीन धान्न कठिन भइरहेकाे उनले बताए । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully