बाँस र काठबाट बनाएको फड्केबाट जोखिमपूर्ण तरिकाले धनकुटाको निबुवा खोला गर्दै आएका तल्लो भीरगाउँ र मालबाँसेका बासिन्दाले २२ दिनसम्म श्रमदान गरेर २२ मिटर लामो पक्की कर्ल्भट बनाएका छन् ।
What you should know
धनकुटा — कसैले बालुवा बोके, गिट्टी फुटाए, हातपाखुरा बलिया हुनेले ढुंगा ओसार्ने काम गरे । सीप भएकाले पर्खाल उठाए भने श्रमदानमा जान नसक्नेले खाजाका लागि सहयोग गरे ।
बाँस र काठबाट बनाएको फड्केबाट जोखिमपूर्ण तरिकाले धनकुटाको निबुवा खोला गर्दै आएका तल्लो भीरगाउँ र मालबाँसेका बासिन्दाले २२ दिनसम्म श्रमदान गरेर २२ मिटर लामो पक्की कर्ल्भट बनाएका छन् ।
धनकुटा नगरपालिकाका सव–इन्जिनियर विष्णु पोदारको प्राविधिक सहयोग लिएर ६५ वर्षीय द्रोणप्रसाद गुरागाई र ४२ वर्षीय डम्बर रानाले गरे कल्भर्ट निर्माणको अगुवाई गरेका थिए । सदरमुकाम आवतजावत गर्ने मुख्य मार्गमै पर्ने निबुवा खोलामा स्थानीयको श्रमदानबाट पक्की कल्भर्ट निर्माण भएपछि जोखिमपूर्ण यात्रा अन्त्य भएको छ । जहाँबाट धनकुटाको तल्लो भीरगाउँका तिर्दाङ लाला, मधुगंगा, रमितेदेखि तांखुवाको चुलाचुली र काजीमानसम्मका स्थानीय हाटबजार र प्रशासनिक कामकाजका लागि सदरमुकाम आउजाउ गर्छन् ।
२०५८ सालमा स्थानीय डिल्लीश्वर दर्नाल, भक्तबहादुर भण्डारी, डम्बर गुरागाई, मकरबहादुर राई र द्रोणप्रसाद गुरागाईको अगुवाइमा २ वर्षसम्म श्रमदान गरेरै बिहीबारेहाट, मालबाँसे, निबुवा खोला, मधुगंगा सडकको ट्र्याक खुलेको थियो । यो भीरगाउँ जाने तल्लो खण्ड हो । २५ वर्षपछि शुभेच्छुकको सहयोग र स्थानीयको श्रमदानबाटै निबुवा खोलमा पक्की कर्ल्भट निर्माण गरेका हुन् । ‘निबुवा खोलामा पुलका लागि २५ वर्षसम्म सरकारतिर हेर्र्यों, पुल बन्ने छाँट नदेखिएपछि आफै अघि सरेका हौं ।’
श्रमअभियानको अगुवाई गरेका भीरगाउँको मधुगंगा टोलबस्तीका अध्यक्ष डम्बर रानाले भने, ‘हिलेमा पानी पर्दा निबुवाखोला मान्छे बग्ने डर हुन्थ्यो, अब त्यो समस्या समाधान भएको छ ।’ सात वर्षअघि सदरमुकामको बिहीबारे हाट भरेर फर्कँदा भाङटारकी ६० वर्षीया बृद्धाको बगेर मृत्यु भएको उनले बताए ।
कर्ल्भट निर्माणका लागि आवश्यक श्रम, ढुंगा, गिट्टी र बालुवा स्थानीयले जुटाए पनि ह्युमपाइप, सिमेन्ट, रड तथा ढुवानी खर्च समाजसेवी द्रोणप्रसाद गुरागाईले बेहोरे । गुरागाईले भीरगाउँवासीको दुःखमा मल्हम लगाउन आफूले कर्ल्भट निर्माणको अगुवाई गरेको बताए । ‘श्रम, ढुंगा, गिट्टी र बालुवाबाहेक ह्युमपाइप, सिमेन्ट, रड तथा ढुवानी मेरो व्यक्तिगत खर्चबाट गरेको हुँ,’ उनले भने ‘एक हातले गरेको दान अर्को हातले थाहा नपाओस् भन्छन्, यतिउति भन्दिन गाउँवासीको दुःखमा सहभागी हुन पाएकोमा खुसी छु ।’ भीरगाउँका स्थायी बासिन्दा गुरागाई हाल धनकुटा सदरमुकामको माथिल्लो कोप्चेमा बसोबास गर्छन् ।
धनकुटा नगरपालिकाका सव–इन्जिनियर विष्णु पोदारले यो कामकालागि व्यक्तिगत रुपमा प्राविधिक सल्लाह उपलब्ध गराएका थिए । पोदारका अनुसार कर्ल्भट निर्मणका लागि २१ लाख रुपैयाँको लागत अनुमान गरिएको थियो ।
श्रमदानका लागि २२ दिनसम्म पालैपालो ६ सय जना भन्दा बढी स्थानीय जुटेको राना बताउँछन् । ढाडे र मालबासे बीचमा पर्ने निबुवा खोलामाथि २२ मिटर लम्बाइ र ८ फिट चौडाइको कल्भर्ट सञ्चालनमा आएपछि अहिले मोटरसाइकललगायत ढुवानी र अन्य सवारीसाधनसमेत सहज रूपमा सञ्चालन हुन थालेका छन् । यही सडक भएर तल्लो भीरगाउँका बासिन्दा दैनिक र प्रशासनिक कामकाज तथा हरेक बिहीबार सदरमुकाममा लाग्ने बिहीबारे हाट आउजाउ गर्छन् । स्थानीय बिवरानी राईले भनिन्, ‘पहिले बर्खामा खोला तर्न निकै समस्या थियो, कल्भर्ट बनेपछि टेम्पो रोकिँदैन, गाडी समेत आउन थालेका छन् ।’
हिले हुँदै भीरगाउँको माथिल्लो क्षेत्रसम्म यो वर्ष एसियाली विकास बैंकको सहयोगमा ७ किलोमिटर १ सय मिटर सडक कालोपत्र हुँदैछ । २०६० सालमा स्थानीय चन्द्रलाल तामाङलगायतको अगुवाइमा स्थानीयले ९६ दिनसम्म श्रमदान गरेर हिलेबाट माथिल्लो भीरगाउँ पुग्ने साढे सात किलोमिटर सडकको ट्रयाक खोलेका थिए ।
२०६६ सालमा एडिबीको सहयोगमा बिहीबारे हाट, मालबाँसे भीरगाउँ रमिते, मधुगंगा सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण पनि भीरगाउँको माथिल्लो क्षेत्रबाट भएको गणेशटार भीरगाउँका युवराज दर्नालले बताए । यहाँ (माथिल्लो खण्ड) अहिले एसियाली विकास बैंकको सहयोगमा ७ किलोमिटर १ सय मिटर सडक कालोपक्रे हुँदैछ ।
तल्लो र माथिल्लो खण्ड गरेर जम्मा १९ किलोमिटर चक्रपथ सडक छ। एडिबीकै आश्वासनपछि धनकुटा नगरपालिकाले हिले, चोक्रोक, भीरगाउँ, मधुगंगा, निबुवा खोला, मालबाँसे, बिहीबारे हाट १९ किलोमिटर चक्रपथ पूरा गर्ने योजना बनाएको थियो । यद्यपि नगरपालिकाको योजना अनुसार काम अघि बढ्न नसक्दा तल्लो क्षेत्रका बासिन्दा समस्यामा परेको नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख सीताराम गौतम बताउँछन् । उनले भने, ‘जटिल भौगोलिक अवस्थाका कारण नगरपालिकाको सानो लगानी अपुग हुने भएकाले ठूलो परियोजनाको पर्खाइमा थियौं, तर नगरपालिकाको योजना र प्रस्ताव अनुसार दाताको सहयोग उपलब्ध भएन ।’
यद्यपि बिहीबारेहाट, मालबाँसे मधुगंगा सडकका अप्ठ्यारो स्थानमा टेवा पर्खाल निर्माण तथा मर्मतसम्भारको काम भइरहेको उनले जनाए । आगामी आर्थिक वर्षमा उक्त सडकलाई बाह्रै महिना सञ्चालन योग्य बनाउने गरी बजेट तथा योजना अघि बढाइने गौतमले जानकारी दिए ।
