धनकुटा एमालेको घोषणा- ‘नागरिकको सहजता पहिलो सर्त’

छलफलका क्रममा सहभागीहरूले हालका केही स्थानीय तहहरू भौगोलिक विकटता, पहुँचको कठिनाइ र सेवा प्रवाहको असमानताका कारण प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए।

वैशाख १०, २०८३

विनोद घिमिरे

What you should know

धनकुटा — नेकपा (एमाले) धनकुटाले स्थानीय तह पुनर्संरचनाको विषयलाई लिएर छलफल सुरु गरेको छ। सरकारले स्थानीय तहको संरचना पुनरावलोकन गर्ने संकेत गरेसँगै एमाले धनकुटाले यसलाई चासोका रूपमा लिँदै सरोकारवालासँग अन्तरक्रिया गरेको हो। 

सिरवानीस्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा स्थानीय तह पुनर्संरचनाका सम्भावित मोडालिटी, चुनौती र अवसरबारे बहस भएको थियो। कार्यक्रममा जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका नेताहरूबाट सुझाव संकलन गरिएको एमाले धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख रविन कट्टेलले जानकारी दिए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समिति प्रमुख, विभिन्न पालिकाका प्रमुख–उपप्रमुख तथा वडाध्यक्षहरूले पुनर्संरचनाका विषयमा धारणा राखेका थिए। सहभागीहरूले स्थानीय तह पुनर्संरचनाको बहसलाई केवल प्रशासनिक सीमाभन्दा माथि उठाएर सेवा प्रवाह, पहुँच र जनसुविधासँग जोड्नुपर्ने धारणा व्यक्त गरेका हुन् । प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले 'स्थानीय तह पुनर्संरचना गर्दा जनतालाई सेवा लिन सहज हुने, भौगोलिक अवस्था र जनघनत्वलाई समेट्ने गरी निर्णय हुनुपर्छ' भन्नेमा जोड दिए। यस्तै जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाल, प्रदेशसभा सदस्य निरन राई तथा जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङले पनि पुनर्संरचनाको आधार जनताको आवश्यकतामै केन्द्रित हुनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा एमाले नेतृ तथा अधिवक्ता हिमा बस्नेतले स्थानीय तह पुनर्संरचनासम्बन्धी संवैधानिक र कानुनी प्रावधानबारे जानकारी गराउँदै सम्भावित प्रक्रिया र चुनौतीहरूबारे प्रष्ट पारेकी थिइन्। उनले पुनर्संरचना गर्दा नेपालको संविधान र प्रचलित कानुनअनुसार स्पष्ट मापदण्ड आवश्यक पर्ने बताइन्।

छलफलका क्रममा सहभागीहरूले हालका केही स्थानीय तहहरू भौगोलिक विकटता, पहुँचको कठिनाइ र सेवा प्रवाहको असमानताका कारण प्रभावकारी हुन नसकेको गुनासो पनि गरेका थिए। उनीहरूले आवश्यकता अनुसार सीमांकन पुनःपरिभाषित गर्दै साना र ठूला स्थानीय तहबीच सन्तुलन कायम गर्नुपर्ने सुझाव दिएका छन्। एमाले धनकुटाले संकलित सुझावलाई केन्द्रीय तहसम्म पुर्‍याएर नीतिगत बहसमा सहभागी गराउने प्रचार विभाग प्रमुख कट्टेलले जनाए । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully