राजगोमन पहाडी क्षेत्रमा विरलै देखिने अत्यन्तै विषालु सर्प हो।
धनकुटा — धनकुटा नगरपालिका-३ र ६ को सिमाना कागतेबाट १३ फिट लामो विषालु राजगोमन (किङ कोब्रा) सर्प उद्धार गरिएको छ।
धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाका प्रदीप श्रेष्ठले शनिबार उक्त सर्प सुरक्षित रूपमा नियन्त्रणमा लिएका हुन्। समुद्री सतहबाट करिब १३ सय मिटर उचाइमा रहेको कागतेस्थित बोधप्रसाद वाग्लेको गोठमा उक्त सर्प तीन दिनदेखि बसिरहेको थियो। स्थानीयको सूचनापछि पुगेका श्रेष्ठले जोखिमपूर्ण अवस्था बीच सर्पको उद्धार गरेका हुन्।
उद्धार गरिएको राजगोमनलाई डिभिजन वन कार्यालय धनकुटासँगको समन्वयमा सुरक्षित रूपमा वन क्षेत्रमा छोड्ने तयारी गरिएको धनकुटा नगरपालिका-३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए।
उद्धारमा संलग्न श्रेष्ठका अनुसार राजगोमन पहाडी क्षेत्रमा विरलै देखिने अत्यन्तै विषालु सर्प हो। 'यसको टोकाइले गम्भीर अवस्था निम्त्याउन सक्छ, तत्कालै मानिसको मृत्यु समेत हुनसक्छ,' उनले भने।
उनका अनुसार यो सर्प लाई नचलाएसम्म आक्रमण नगर्ने भए पनि चलाउँदा आक्रामक बन्ने गर्दछ।
विगत ९ वर्षदेखि सर्प उद्धारमा सक्रिय श्रेष्ठले पछिल्लो दुई वर्षमा धनकुटाको महालक्ष्मी, पाख्रीबासलगायत क्षेत्रबाट पाँचवटा राजगोमन नियन्त्रणमा लिएर जंगलमा छोडिसकेको बताए। जलवायु परिवर्तनका कारण पहाडी तथा चिसो क्षेत्रमा समेत यस्ता विषालु सर्प देखिन थालेको उनको भनाइ छ।
