केन्द्रबाट विपत‍् प्रतिकार्य प्रभावकारी बनाउन निर्देशन, जिल्ला र स्थानीय तहमा छैन स्रोत साधन

गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी सुरक्षा निकाय, नेपाल रेडक्रस र सरोकारवालाहरूले एक स्वरमा स्रोतसाधन अभावकै कारण प्रभावकारी काम गर्न नसकिएको गुनासो गरेका छन्।

चैत्र २६, २०८२

विनोद घिमिरे

Center issues directives to make disaster response effective, but district and local levels lack resources

What you should know

काठमाडौँ — संघीय सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइरहेका बेला धनकुटामा भने विपद् प्रतिकार्य संयन्त्र नै स्रोतसाधन अभावले कमजोर बनेको पाइएको छ।

गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी सुरक्षा निकाय, नेपाल रेडक्रस र सरोकारवालाहरूले एक स्वरमा स्रोतसाधन अभावकै कारण प्रभावकारी काम गर्न नसकिएको गुनासो गरेका छन्।

चैतको पहिलो साता आएको हावाहुरीले कोशी राजमार्गअन्तर्गत धनकुटा–हिले खण्डमा सयौं रुख ढल्दा सडक अवरुद्ध भएको घटनाले जिल्लाको विपद् तयारीको वास्तविक अवस्था उजागर गरेको छ। ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भए पनि रुख काट्ने सामान्य आरा नहुँदा करिब १४ घण्टासम्म राजमार्ग अवरुद्ध बनेको थियो।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सामान्य उपकरण अभावकै कारण रातभर सडक खुलाउन नसकिएको बताए। 'जनशक्ति हुँदाहुँदै एउटा आरा नहुँदा समस्या भयो,' उनले भने, 'स्रोतसाधन अभावले हामी बाँधिएका छौं।' नेपाल प्रहरीका उपरीक्षक शरतकुमार थापा क्षेत्रीले विपद् प्रतिकार्यका लागि जनशक्ति मात्रै पर्याप्त नहुने बताए। 'उपकरणबिना काम सम्भव छैन,' उनले भने, 'स्रोतसाधन नभए खाली हातले काम गर्नुपर्ने अवस्था छ।'

सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मका नायब उपरीक्षक प्रेमप्रकाश सिग्देलले बाढी तथा डुबानका बेला उद्धार गर्न आवश्यक आधारभूत सामग्रीसमेत नभएको गुनासो गरे। 'हामीसँग एउटा गतिलो लाइफज्याकेटसमेत छैन,' उनले भने, 'डुङ्गा त धेरै टाढाको कुरा भयो।' अरुण र तमोर नदी क्षेत्रमा उद्धार कार्यमा बारम्बार समस्या हुने गरेको उनले बताए। नेपाली सेनासँग पनि बाढी, पहिरो, आगलागी तथा आँधीहुरीजस्ता विपद्का बेला आवश्यक उपकरणको अभाव रहेको बैठकमा उल्लेख गरिएको थियो।

विपद्का बेला राहत तथा उद्धारमा अग्रपंक्तिमा रहने नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखासमेत स्रोतविहीन बनेको छ। शाखाका उपाध्यक्ष ठगेन्द्र अधिकारीका अनुसार तत्काल राहत दिनुपर्ने अवस्थामा १० जनालाई सहयोग गर्ने सामग्रीसमेत उपलब्ध छैन। 'स्टोर खाली छ,' उनले भने, 'केन्द्रकै समस्या कारण हामी प्रभावित भएका छौं।' विपद् व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी संयोजक रहने कोषसमेत खाली रहेको पाइएको छ। प्रजिअ खड्काले उक्त कोषमा रकम नभएको भन्दै खोजी भइरहेको बताए।

जिल्लामा मात्र नभई स्थानीय तहमा गठन भएका विपद् व्यवस्थापन समितिहरू पनि उस्तै समस्यामा छन्। पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले स्रोत अभावकै कारण प्रभावकारी काम गर्न नसकिएको बताए। 'घटना परेपछि खोजी गरेर व्यवस्थापन गर्नुपरेको छ,' उनले भने। सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले पनि उपकरण र स्रोत अभावका कारण विपद् प्रतिकार्य प्रभावकारी हुन नसकेको बताए।

बैठकमा सहभागीहरूले केन्द्रबाट पूर्वतयारी सुदृढ बनाउन निर्देशन आए पनि स्थानीय तहमा स्रोतसाधन अभावले काम गर्ने अवस्था नरहेको निष्कर्ष निकालेका छन्। अन्ततः बैठक स्रोतसाधन अभावकै कारण जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन समिति निष्प्रभावी बनेको निष्कर्षसहित टुंगिएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully