तीनवटै सुरक्षा निकायलाई करिब ५ लाख ७५ हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको डिभिजनल वन अधिकृत संजीवराज ढकालले जानकारी दिए।
What you should know
धनकुटा — डिभिजन वन कार्यालय धनकुटाले जिल्लास्थित सुरक्षा निकायलाई अग्नि नियन्त्रणका लागि आवश्यक उपकरण हस्तान्तरण गरेको छ ।
वन डढेलो व्यवस्थापन कार्यक्रम तथा कोशी प्रदेश वन निर्देशनालयको सहयोगमा नेपाली सेनाको भीमदल गण सल्लेरी, जिल्ला प्रहरी कार्यालय धनकुटा र सशस्त्र प्रहरी बलको छिन्ताङ गुल्मलाई सामग्री हस्तान्तरण गरिएको हो।
डिभिजन वन कार्यालयले आगो नियन्त्रणका लागि प्रयोग हुने फायर स्वाटर, रेक, एक्स, फायर बुट, फेस मास्क, हेलमेट, पञ्जा, जम्प बुट तथा ब्याकप्याक वाटर पम्प लगायतका सामग्री उपलब्ध गराएको जनाएको छ। तीनवटै सुरक्षा निकायलाई करिब ५ लाख ७५ हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको डिभिजनल वन अधिकृत संजीवराज ढकालले जानकारी दिए।
उक्त सामग्री भीमदल गणका गणपति प्रमुख सेनानी गणेश थापा, प्रहरी उपरीक्षक सरत कुमार थापा क्षेत्री र सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रसाद सिग्देललाई हस्तान्तरण गरिएको हो।
डिभिजन वन कार्यालयका अनुसार धनकुटाको अरुण र तमोर तटीय क्षेत्र वन डढेलोको उच्च जोखिममा रहेका छन्। जिल्लाको करिब ४२ प्रतिशत भूभाग वनले ढाकेकोमा तीमध्ये १२ प्रतिशत क्षेत्र उच्च जोखिममा पर्ने गरेको छ। प्रत्येक वर्ष वन डढेलोका कारण करिब १५ करोड रुपैयाँ बराबरको वन स्रोत नष्ट हुने गरेको तथ्यांक छ।
सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले उपकरण खरिदसँगै यसको प्रभावकारी परिचालनमा जोड दिए। उनले सामग्री किनेर थन्क्याउने मात्र नभई आवश्यक समयमा प्रयोग र जनशक्ति परिचालन गर्नुपर्ने बताए। गुणस्तरहीन सामग्री खरिद गरेर थुपार्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
उनले विपद् व्यवस्थापनका लागि परम्परागत सोच र कार्यशैलीबाट अघि बढ्न नसकिने स्पष्ट पार्दै आधुनिक उपकरण र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे।
